महोत्तरी । मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्ति योजना अघि बढाएको छ ।
प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना अघि बढाएको हो ।
यो छात्रवृत्तिमा मधेसका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले अवसर पाउने मधेस प्रदेशको शिक्षा निर्देशनालयले जनाएको छ । प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका छोरी र जेहेन्दार छात्रालाई उच्च शिक्षामा सहुलियत दिन छोरी छात्रवृत्ति योजना बढाइएको बताएका छन् ।
मन्त्रिपरिषदबाट निर्णय भई अघि बढेको यससम्बन्धी प्रक्रिया अब प्रदेश शिक्षा निर्देशनालयले अघि बढाउने उनले स्पष्ट पारे ।
प्रदेशका आठवटै जिल्लाका चार समूहमा विभाजन गरिएका छात्राले छात्रवृत्ति पाउनेछन् । यी चार समूहमा दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रा पर्नेछन् ।
Leave a Reply