सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा खसेको बोलेरो गाडी ७ घण्टापछि निकालिएको छ ।
उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे - तातोपानी सडक खण्डको छ्याक्सा नजिकै भोटेकोसी नदीमा बोलेरो गाडी क्षतिग्रस्त अवस्थामा भेटिएको हो । तर गाडीका चालक र उक्त गाडीमा सवार एक महिला भने बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेरोका चालक भोटेकोशी गाउँपालिका(५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा हुन् ।
उनीसहित बोलेरोमा बाहृबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ सवार थिइन् । नदीमा बोलेरो मात्रै फेला परेकाले अन्य विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । दुवै नदीमा बगेर बेपत्ता भएको आशंका गरिएको छ ।
बोलेरो बिहीबार बेलुकानै सडकबाट नदीमा खसेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बेपत्ता दुवै जनाको ओजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।