प्यूठान । प्यूठानमा विद्यालयबाट घर फर्किरहेका एकै घरका दुई दाजुभाइ बर्खे भेलमा बग्दा एक बालकको मृत्यु भएको छ भने अर्काको खोजी कार्य जारी छ।
नौबहिनी गाउँपालिका–५ काँटेस्थित जनता प्राथमिक विद्यालयमा पढाइ सकेर घर फर्कंदै गरेका कक्षा १ मा अध्ययनरत बिमल खत्री र कक्षा ३ मा अध्ययनरत उनका दाइ मिलन खत्री जोगिपँधेरामा आएको एक्कासिको भेलमा परेका हुन्।
भेलले बगाएका बिमल खत्रीको शव फेला परेको स्थानीयले बताएका छन्।
उनका दाइ मिलन खत्री भने अझै बेपत्ता रहेकाले स्थानीयवासी, प्रहरी र सरोकारवाला निकायले खोजी कार्य तीव्र बनाएका छन्।
स्थानीयका अनुसार माथिल्लो क्षेत्रमा लगातार परेको भारी वर्षाका कारण अचानक ठूलो भेल आएको थियो।