काठमाडौं । नापी कार्यालय, चावहिल अन्तर्गत २ नम्बर नापी टोलीमा कार्यरत अमिन टोपजङ खत्री ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस मागेका थिए।
सेवाग्राहीको उजुरीपछि अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले मंगलबार गोकर्णेश्वर नगरपालिका–४ माकालवारीस्थित कार्यालय परिसरबाट उनलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।
अख्तियारले पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।