Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालले भन्यो - राजसंस्था स्थापनाका लागि वृहत् राष्ट्रिय मोर्चा बनाऔं

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरूको मोर्चा बनाउन आह्वान गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अहिलेको व्यवस्थाको अन्त्य गर्न चाहनेहरू मोर्चा बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो।

राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्र स्थापना तथा सङ्घीयता खारेजीका लागि वृहत् राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आवश्यकता रहेको ठहर गरेको छ ।

बैठकले सङ्घीय गणतन्त्रको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्न चाहने, सङ्घीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकताबद्ध हुनुपर्छ भन्ने समयको माग र जनताको चाहना रहेको बताउँदै वृहत् राष्ट्रिय मोर्चा निर्माण गर्न सम्पूर्ण राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समूहलाई आह्वान गरेको छ ।

सामूहिक नेतृत्व र सबैको सहभागिताका आधारमा मोर्चा निर्माण गर्न राप्रपा नेपालले आग्रह गरेको छ। राप्रपा नेपालले केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ।

उक्त बैठकमा वृहत राष्ट्रिय मोर्चा निर्माण र भावी आन्दोलनको कार्ययोजना पेश गर्ने निर्णय पनि कार्यसम्पादन समितिले गरेको छ। संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको स्थापनाबाट कुनै पनि राजनीतिक दल, समूह वा नेताहरू चिन्तित र विचलित हुनु नपर्ने पार्टीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077