एजेन्सी । प्यालेस्टाइन विद्रोही समूह हमासले पूर्व सूचना नदिई सर्वसाधारणलाई हवाई आक्रमण गरे इजरायली बन्धकको हत्या गर्न चेतावनी दिएको छ ।
हमासका सैनिक प्रवक्ताले सोमबार एक भिडियो सन्देश जारी गर्दै पूर्वसूचनाविनै सर्वसाधारणलाई हवाई आक्रमण गरे इजरायली बन्धकको हत्या गर्न चेतावनी दिएको हो । इजरायलले हमाससँग चलिरहेको द्वन्द्वमा आफूले असंख्य शक्ति प्रयोग गरी पराजित गर्ने बताइरहेका बेला हमासको यस्तो अभिव्यक्ति आएको हो ।
गाजाका नागरिक क्षेत्रमा इजरायली आक्रमण तीव्र छ । कसम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले विज्ञप्तिमा भनेका छन्, 'हामी घोषणा गर्दछौं कि यदि हाम्रा मानिसहरूलाई कुनै चेतावनी बिना उनीहरूको घरको सुरक्षामा निशाना बनाइयो भने, हामी हाम्रा शत्रु (इजरायल) को बन्धकहरूलाई मार्नेछौं।'
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको आक्रमणप्रति आफ्नो देशको प्रतिक्रियालाई ‘सुरुवात मात्र’ भनेका थिए । हमासले शनिबार इजरायलमा आक्रमण गरेदेखि दुई देशबीचको रक्तपातपूर्ण द्वन्द्वमा हालसम्म ९०० इजरायलीको मृत्यु भइसकेको छ । इजरायलको जवाफी आक्रमणमा गाजाका ७०० मानिसको मृत्यु भएको जनाइएको छ।