Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभामा दलित समुदायबाट १६ सांसद, कुन पार्टीबाट कति ?

काठमाडौं । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन), रुपा विक (कपिलवस्तु), सीता मिजार (नुवाकोट) र आशा विक (बाँके) सहित दलित समुदायबाट पाँच जना निर्वाचित भए।

नेकपा एमालेबाट ईश्वरबहादुर रिजाल (दोलखा), प्रभु हजरा दुसाध (पर्सा), चन्द्र विश्वकर्मा (रुकुमपश्चिम), रुक्मणि राना बराइली (काभ्रेपलाञ्चोक) र हर्कमाया विश्वकर्मा (झापा) समानुपातिकमा निर्वाचित भएका छन्।

एमालेले समानुपातिकतर्फ प्राप्त गरेको सिट ३४ मध्ये पाँच जना दलित समुदायबाट छन्। नेकपा (माओवादी केन्द्र) बाट भने रणेन्द्र बराइली (चितवन) र सुशीला श्रीपाइली (अर्घाखाँची) निर्वाचित भए। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा सन्तोष परियार र शिव नेपाली निर्वाचित भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिता नेपाली निर्वाचित भएकी छन्। प्रत्यक्षतर्फ भने एमालेका सचिव छविलाल विश्वकर्मा मात्रै रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। प्रतिनिधिसभामा जम्मा सांसदको संख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी दलित समुदायबाट १६ जना सांसदको सहभागिता छ।

विगतको तुलनामा यसपटक संसद्मा दलित समुदायबाट प्रतिनिधित्व गर्ने संख्या कमजोर देखिएको छ। विसं २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए।

संविधानसभा २०६४ मा छ सय एक जनामा ५१ जना (आठ दशमलव ४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो। तीमध्ये तत्कालीन नेकपा माओवादीबाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए।

संविधानसभा २०७० मा दलित प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (छ दशमलव ८२ प्रतिशत) मा झर्‍यो। सोमध्ये दुई जना नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित भएका थिए।

संविधान जारी भएपछिको पहिलो प्रतिनिधि सभा निर्वाचन २०७४ मा १९ जना (छ प्रतिशत) को प्रतिनिधित्व भयो। सोमध्ये एमालेबाट दुई जना र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077