काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले छानबिनको म्याद थप्न माग गरेको छ । समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो ।
कार्य प्रारम्भ गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने म्याण्डेटसहित गठन भएको समतितिको कार्यअवधि एक हप्ता थप्न प्रस्ताव गर्ने निर्णय समितिले गरेको हो । बिहीबारको संसद बैठकले समय थप्नेछ । समितिको १० दिने अवधि शुक्रबार सकिँदै छ।
समितिले अहिलेसम्म घटनाको सत्यतथ्य पत्ता लगाउन घटनासँग सरोकार राख्ने अर्थ मन्त्रालयका उच्च अधिकारी, प्राविधिक विज्ञसहितका व्यक्तिसँग सोधपुछ गरेको छ । सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।
समितिले बिहीबार बिहान ८ बजे निवर्तमान अर्थमन्त्री जनार्दशन शर्मासँग सोधपुछ गर्ने भएको छ। जेठ १४ गते राति अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर व्यापारीक घरानालाई फाइदा पुग्ने गरी करका दर हेरफेर गरेको आरोप लागेको छ । छानबिन समिति गठन गरे लगत्तै अर्थमन्त्री शर्मादे राजिनामा दिएका थिए ।