काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोपमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले सीसीटीभी फुटेज मेटिएको निष्कर्ष निकालेको छ । समितिको आइतबार बसेको बैठकमा सीसीटिभी फुटेज हेर्ने ब्यक्ति बोलाइए पनि गत जेठ १४ गतेको फुटेज प्राप्त हुन नसकेको हो ।
सीसीटीभी फुटेज नै नभेटिएपछि निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने सोमबारको कार्यतालिकासमेत सरेको छ । अर्थमन्त्रालयको प्रशासन महाशाखाका प्रमुख, सीसीटिभीसँग सम्बन्धित इन्जिनियर र बजेट महाशाखा प्रमुखहरूका साथै राजस्व र अर्थ सचिवहरूसंग समितिले सोधपुछ गरेपनि कर्मचारीहरुले मुख्य प्रमाण नै दिन अटेर गरेको बुझिएको छ ।
कर्मचारीहरुले बजेट निर्माणका क्रममा असम्बन्धित मानिस मन्त्रालय प्रवेश गरेको विषयमा पनि आलटाले कुरा गरेको समितिका सदस्यहरुले बताएका छन् । सीसीटीभी फुटेज कसरी प्राप्त गर्ने भन्ने विषयमा सोमबार बस्ने बैठकमा छलफल हुने भएको छ ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा एउटा निजी कम्पनीका प्रबन्धकलाई अर्थमन्त्रालयमा प्रवेश गराएर करका दरमा चलखेल गर्न दिएको आरोपमा संसदीय समिति गठन गरिएको छ । सोही आरोपमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपनि छानविनमा प्रमाण जुट्न नदिन उनी सक्रिय रहेको बुझिएको छ।
बजेट चलखेल प्रकरणमा तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएकै दिन असार २२ गते छानबिन समिति गठन गरिएको थियो। समितिले असार २७ मा काम थालेको थियो। गत बुधबार जेठमा राजश्व दर निर्धारण गर्ने क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको अवधिको सीसीटीभी फुटेज तथा कागजात उपलब्ध गर्न समितिले पत्र पठाएको थियो।