Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गीताको कसम नतोडेको दावी गर्दै कमल थापाले भने–लिङ्देनले समाप्त पार्न खोजे त्यसैले नयाँ पार्टी रोजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि पार्टी छाडेर राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाले आफूले गीताको कसम नतोडेको दावी गरेका छन् ।

राप्रपा, नेपालको घोषणा सभामा आज थापाले यस्तो दावी गरेका हुन् । उनले २०७६ फागुन २९ गते गीतामा हात राखेर राप्रपा नफुटाउन खाएको कसम खाएका थिए । उक्त कुराको स्मरण गर्दै आज उनले भने–‘यहिँ मञ्चबाट मैले गीता हातमा लिएर राप्रपालाई कदापी फुटाउने छैन, फुट्नदिने छैन भन्ने कसम खाएको थिए । गीता हामी सनातन धर्मावलम्बीहरूको एउटा महान ग्रन्थ हो, पवित्र ग्रन्थ हो । त्यसलाई छोएर मैले राप्रपा कहिल्यै नफुटाउने कसम खाएको मलाई सम्झना छ । धार्मिक र आध्यात्मिक मान्यतामा विश्वास राख्ने भएको कारणले गर्दा मलाई आज यो भन्दाखेरि खुसीको अनुभव हुन्छ, मैले राप्रपा फुटाइनँ ।’

राप्रपालाई कानुनी रूपमा नै विभाजन गर्न केही नेताले सुझाव दिँदा पनि आफूले त्यसो गर्न नचाहेको उनको भनाइ थियो । उनले भने–‘कतिपय केन्द्रीय सदस्यले विधान, कानुन बमोजिम ४० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन भन्ने सल्लाह दिएका थिए । तर मैले पार्टी फुटाउन चाहिनँ ।

घोषणा सभामै राप्रपालाई ठिक ढंगबाट नेतृत्व दिन नसक्दा भूमिका विहीन हुन पुगेको भन्दै माफी मागेका उनले राप्रपा, नेपाललाई बिसर्जन गरेर गलत प्रवृतिसँग सम्झौता गरेर गम्भीर भूल भएको बताए । उनले पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीसँगको एकतालाई गम्भीर भूलका रूपमा संकेत गरेका थिए ।

लिङ्देन नेतृत्वको राप्रपा सैद्धान्तिक रूपमा विचलित, संगठनात्मक रूपमा गलत प्रवृतिमा लागेको भन्दै उनले आफूलाई निरीह, लाचार र अपमानित भएर पार्टीको पतनलाई हेरिराख्ने छुट र अनुमति नभएकाले अलग हुनुपरेको बताए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति निर्माण गरेको दावी गरे । उनले आफूलाई राजनीतिक रूपमा नै समाप्त पार्ने प्रयास गरिएको पनि बताए ।

उनले भने–‘पूर्वाग्रहपूर्ण ढंगबाट पार्टी सञ्चालन गर्ने काम भयो । हामीलाई योजनाबद्ध रूपमा पाखा लगाउने, पार्टीबाट धकेलेर पर पुर्‍याउने परिस्थितिको निर्माण भयो । त्यसैले पार्टी छाड्न बाध्य भएँ ।
महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेर आफूलाई पराजित गरेको आरोप लगाउँदै आएका थापाले त्यस विषयमा छानबिन गर्न माग गर्दा सुनुवाई नभएको बताए । उनले सामान्य विज्ञप्ति जारी गर्न पनि अध्यक्ष लिङ्देन तयार नभएको अवस्थामा पार्टी परित्याग गर्न पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077