काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हत्या अभियोगबाट सभामुख अग्नीप्रसाद सापकोटालाई जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी भएको टिप्पणी गरेका छन् ।
सोमवार बिहान एक ट्वीट गर्दै अध्यक्ष थापाले सभामुख सापकोटालाई हत्या अभियोगबाट जोगाउन प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको आरोप लगाएका हुन् ।
यस्तै अध्यक्ष थापाले नेकपा एकिकृत समाजवादीको सांसद पद जोगाउनका लागि पनि प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याइएको बताएका छन् । सत्ता गठबन्धनले आफ्नो स्वार्थ अनुकुल हुनेगरी प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी भएको उनको भनाई छ ।
उनले लेखेका छन्,'प्रधानन्याधीशलाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस) को सासंद पद जोगाउने प्रपंचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो ।'