काठमाडौँ । विभिन्न बैंकहरुको करोडौं ऋण नतिरी फरार रहेका ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू अभिषेक अग्रवाल र अमित अग्रवाल काठमाडौं फर्किएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार गत पुस २२ देखि सम्पर्कविहीन रहेका उनीहरु बिहीबार काठमाडौँ आएका हुन् । प्रहरीका अनुसार उनीहरु करिब ३५ दिनपछि प्रहरीको सम्पर्कमा आएका हुन् ।
सञ्चालकद्वय अभिषेक अग्रवाल र अमित अग्रवालमध्ये अहिले अमित मात्र काठमाडौं आएर प्रहरी र बैंकहरुको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । केही दिनमा सबै परिवार नै काठमाडौं आइपुग्ने जानकारी अमितबाट पाएको प्रहरीको भनाइ छ ।
विदेशबाट आयातित महँगा रक्सी विक्रेताका रूपमा परिचित ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू ऋण नतिरी भागेपछि बैंक तथा वित्तीय संस्थाको करिब ८० करोड रुपैयाँ जोखिममा परेको छ ।
राष्ट्र बैंकका अनुसार ग्रिनलाइन सेन्टरले मेगा बैंकबाट करिब २४ करोड, ग्लोबल आईएमई बैंकबाट साढे ७ करोड, एभरेस्ट बैंकबाट करिब २० करोड र इन्भेस्टमेन्ट बैंकबाट करिब ३० करोड रुपैयाँ कर्जा लिएको थियो ।
सन् १९९९ मा जनकपुरका ओमप्रकाश अग्रवालले ग्रिनलाइन सेन्टर प्रालि स्थापना गरेका थिए। त्यसयता कम्पनीले विदेशी ब्रान्डका महँगा मदिरा बिक्री गर्दै आएको थियो । त्यही कारोबार केही वर्षदेखि ओमप्रकाशका छोरा अभिषेक अग्रवाल र अमित अग्रवालले सञ्चालन गर्दै आएका थिए । खासगरी कोभिडको पहिलो लहरको संक्रमणपछि उनीहरूको व्यवसायमा देखिने गरी समस्या आएको बताइएको छ ।