काठमाडौं । करिब डेढ वर्षसम्म रोकिएको नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास भारत उत्तराखण्डको पिथौरागढमा सुरु भएको छ ।
आजबाट सुरु भएको नेपाल र भारतबीच सैन्य अभ्यास १३ गतेसम्म सञ्चालन हुनेछ । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास सूर्य किरण’ को नाम दिइएको छ । अभ्यास सूर्य किरणको यो १५ औं संस्करण हो ।

नेपाली सेनाको तर्फबाट प्रमुख सेनानीले नेपाली टोलीको नेतृत्व गरेको छ । नेपाली टोलीमा ३०० जनाको फौज छ । भारतीय सेनाको तर्फबाट ३ सय ५० जनाको फौज सैन्य अभ्यासमा सहभागी छ । नेपाली सेनाको टोली शनिबार पिथौरागढ पुगेको थियो ।
अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षणलगायतमा केन्द्रीत हुनेछ। यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पुर्याउनेछ । अभ्यास सूर्यकिरणमा नेपाली र भारतीय सेनाबीच बटालियनस्तरको संयुक्त प्रशिक्षण हुँदै आएको छ ।
अभ्यास सूर्य किरणको १४ औं संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा भएको थियो भने ‘अभ्यास सूर्यकिरण’को १३ औं संस्करण उत्तराखण्डको पिथौरागढमै भएको थियो । अभ्यास सूर्य किरणको यो १५ औं संस्करण हो ।