काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएका कुलमान घिसिङले प्राधिकरण पुगेका छन् ।
बुधबार पदभार ग्रहणका लागि प्राधिकरणका पुगेका बेला उनलाई त्यहाँको कर्मचारीहरुले स्वागत गरेका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपालमा लोडसेडिङ हटाउन मात्र नभई सँधै घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै घिसिङलाई पुनर्नियुक्ति गराएका हुन् ।
प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच घिसिङलाई पुनर्नियुक्ति गर्ने सहमति भएको थियो।
यसअघि २०७३ सालमा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङले आफ्नो कार्यकालमा देशलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।
Leave a Reply