Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा सांसद विडारीद्वारा अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता

काठमाडाैं । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका सांसद विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका हुन् ।

सांसद विडारीले आइतबार अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता गराएका संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए। प्रस्तावमा विडारीले उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसदको अधिवेशन छ महिनामा बोलाउनु पर्नेमा सो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको उल्लेख गरेका छन्।

‘संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति–पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएकाले राष्ट्रिय सभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गर्दछु,’ विडारीले भनेका छन्।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन गत शुक्रबारदेखि सुरू भएको छ। राष्ट्रपति भण्डारीले गत मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश जारी गरेकी थिइन्। शुक्रबारको बैठकमा सरकारले उक्त अध्यायदेश राष्ट्रिय सभामा पेस गरेको थियो।

अध्यादेशमा संवैधानिक परिषदले अध्यक्षसहित तीन जनाको बैठक बसेर निर्णय गर्ने सक्ने व्यवस्था गरिएको थियो। यसअघि ६ सदस्यीय परिषदको बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था थियो। नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अध्यादेश फिर्ता लिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077