Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सूर्य थापाको समितिले किन खोजेन ‘भारतीय नागरिक’ पवन साह जोडिएको जीबीको अरबौंको जग्गा ?

    सूर्य थापाको समितिले किन खोजेन ‘भारतीय नागरिक’ पवन साह जोडिएको जीबीको अरबौंको जग्गा ?

    अनलाइन नेपाल
  • आइतबार, २० असोज २०८१
  • 339
    SHARES

    काठमाडौं । सूर्यबहादुर थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन बिशेष समितिले गएको भदौ ३१ गते पेश गरेको प्रतिवेदनमा गीतेन्द्रबाबु(जीबी) राईले सहकारीको रकम अपचलन गरी खरिद गरेको अरबौं मूल्यको जग्गा खोजीनीति नै नगरेको पाइएको छ ।

    पोखरामा सञ्चालित सूर्यदर्शन सहकारीका बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा डेढ वर्ष अघि नै आफूहरुको निक्षेप फिर्ता नगरेको भन्दै उजुरी दर्ता गराएका थिए ।



    बचतकर्ताले उजुरी दर्ता गराएपछि जीबी राईले निक्षेप फिर्ता गर्न नसक्ने सम्भावना देखेर सहकारीको रकमले खरिद गरिएका एकपछि अर्को घरजग्गालगायतका सम्पत्ति बिक्री गर्ने क्रम शुरु गरेका थिए ।



    त्यसैक्रममा राईले ललितपुरको भैंसेपाटीस्थित प्राइम लोकेसनमा सहकारीको बचत रकमले खरिद गरेको बहुमूल्य २३ रोपनी भन्दा बढी जग्गा हतार हतार चेनी क्यापिटलको नाममा बिक्री गरेका थिए ।

    चेनी क्यापिटल जीबी राई नै जोडिएको कम्पनी हो । बीचमा उनी आफू अलग भएर भैंसेपाटीको २३ रोपनी ७ आना जग्गा उक्त कम्पनीको नाममा बिक्री गरेको देखाई लुकाइएको छ । घरजग्गा र ग्यालेक्सी मिडियालगायतका दर्जनौ कम्पनीमा लगानी गरेपछि राई संलग्न पाँचवटा सहकारी संस्था एकपछि अर्को समस्याग्रस्त भए । ४९ हजार सर्वसाधारणको १६ अर्ब बचत डुबेको छ ।

    मजदुरदेखि कर्मचारीसम्म सबै तप्काका नागरिकको रकमबाट जीबीले घरजग्गादेखि मिडिया कम्पनी खोलेर अन्धाधुन्ध लगानी गर्दा सहकारी समस्यामा परे । सहकारी समस्यामा परेपछि जीबीले बचतकर्ताको बचतबाट खरिद गरिएका बहुमूल्य सम्पत्तिहरु विभिन्न व्यक्तिका नाममा कानूनी रुपमा विक्री गरेको देखाएर लुकाएको तथ्य खुलेको छ ।

    जीबी राईसँग जोडिएका विवादास्पद भारतीय मूलका नागरिक पवनकुमार साह र बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी रहेको चेनी क्यापिटललाई भैंसेपाटीको उक्त जग्गा कानूनी रुपमा बिक्री गरेको देखाईएपनि जीबी राईले लुकाएको खुलेको छ ।

    तर, सूर्य थापा नेतृत्वको सहकारी छानविन समितिले उक्त जग्गाको बारेमा खोजविन नै नगरी प्रतिवेदन दिएको छ । सूर्यदर्शन सहकारीका पीडितले उजुरी दिएपछि जीबी राईले हतार हतार उक्त जग्गा २०७९ भदौ १ गते चेनी क्यापिटलको नाममा नामसारी गरेका थिए । तर, समितिले यो पाटोमा अध्ययन नै नगरी जीबी राईले लुकाएको सम्पत्तिलाई बैधता दिएको छ ।

    को–को छन् चेनी क्यापिटलमा ?
    सर्वसाधारणको बचत हिनामिना गरी जीबी राईले खरिद गरेको २३ रोपनी ७ आना जग्गा बिक्री गरिएको चेनी क्यापिटलका सञ्चालकमध्येका एक जीबी राई नै थिए । तर, उनी बीचमा अलग भएको देखाएर सहकारीको रकमले किनेको उक्त जग्गा लुकाउन चेनी क्यापिटलमा आफ्ना विश्वासपात्र सञ्चालकहरु खडा गरे । जसमा शंकास्पद ‘भारतीय नागरिक’ पवनकुमार साहकी श्रीमती रश्मिदेवी साह, एकनाथ भण्डारी र रक्षम इन्भेष्टमेन्ट कम्पनी छन् । एकनाथ भण्डारी बाजेको सेकुवाका मालिक चेतन भण्डारीका पारिवारिक सदस्य हुन् । रक्षम इन्भेष्टमेन्ट कम्पनी स्वयं पवनकुमार साहकै हो ।

    जीबीको नाममा रहेको उक्त जग्गा खरिद गर्ने चेतन भण्डारी ३३ किलो सुन तस्करी र सनम शाक्य अपहरणपछि हत्या प्रकरणमा मुछिएर अमेरिका पलायन भई अदालतमा मुद्दा दर्ता भएपछि नेपाल आएका थिए । पछि उनले अदालतमा सेटिङ गरी मुद्दाबाट सफाइ पाएका थिए ।

    को हुन् पवनकुमार साह ?
    ‘भारतीय नागरिक’ पवनकुमार साहले जिल्ला प्रशासन कार्यालय रौतहटबाट नक्कली बाबु बनाएर २०५२ साल मंसिर ७ गते नेपाली नागरिकता लिएको अभिलेखमा देखिन्छ । उनले चन्द्रनिगाहपुर स्थायी ठेगाना राखी लिएको नागरिकता प्रमाण पत्र नम्बर १७२९ रहेको छ । सो नागरिकता प्रयोग गरी उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दोस्रो प्रतिलिपीसमेत निकालेको देखिन्छ ।

    ४५ वर्षदेखि नेपालमा व्यापार व्यवसाय गर्दै आएको दावी गर्ने साहले कसरी बंशजबाट उक्त नागरिकता लिन सफल भए ? यसमा सीआईबीले छानविन गर्ने हो भने उनलले झुटा विवरण पेश गरी नागरिकता लिएको खुल्नेछ । जुन प्रकरणमा छानविन गर्ने हो भने रौतहटदेखि काठमाडौं प्रशासन कार्यालयका सरकारी कर्मचारीहरु अनुसन्धानको दायरामा आउने देखिन्छ ।

    साहले नक्कली बाबु बनाएर नागरिकता लिएको खुल्ने प्रस्ट आधारहरु देखिने उनी निकट स्रोत दाबी गर्छ । हालसालै मात्र तिब्बतीलाई नक्कली नेपाली बनाई नागरिकता दिलाएको प्रकरणमा सरकारी कर्मचारीदेखि तिब्बतीयन नागरिक सोनाम तामाङसहित पाँच जना पक्राउ परेका छन् ।

    साह पछिल्ला बर्षमा चीनबाट मल र चिनी तस्करी गर्ने मुख्य पात्र हुन् । रमेश शेर्पासँग मिलेर उनले सिल्क ट्रान्सपोर्टबाट मल र चिनी तस्करी गर्दैआएका छन् । चीनबाट मल र चिनीमात्र होइन, साहले सत्यम एग्रो नामक कम्पनी खोलेर तेस्रो मुलुकबाट सुपारी, केराउ र पोस्तादाना नेपालमा ल्याई भारत तस्करी गर्ने गरेको स्रोत बताउँछ ।

    कतिपय ठूला परिमाणका सामान छुटाउने क्रममा उनले विचौलियाको रुपमा प्रस्तुत भई भन्सारसँग सेटिङ गर्दै आएका छन् । उनले श्रीमतीको नाममा रौतहटदेखि काठमाडौंसम्म अरबौंका जग्गा जमिन जोडेका छन् । अरबौं मूल्यका उक्त सम्पत्तिको विवरण अनलाइन नेपालसँग सुरक्षित रहेको छ । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले पनि उनको स्रोत नखुलेको सम्पत्तिमाथि छानविन शुरु गरेसँगै विचौलिया लगाएर रोकाउन खोजिरहेका छन् ।

    जीबीबाट खरिद गर्नासाथ चेनीले लियो झण्डै १७ करोड ऋण
    भण्डारी र साहले चेनी क्यापिटलको नाममा जीबीबाट ललितपुर सैंबुको उक्त २३ रोपनी ७ आना जग्गा खरिद गरे लगत्तै सोही जग्गा धितो राखेर २०७९ भदौ १४ मा हिमालयन बैंक न्यूरोड शाखाबाट १६ करोड ८० लाख ऋण लिएको देखिन्छ । जुनबेला पोखरामा सहकारी पीडितहरुले जिला प्रहरी कार्यालय कास्कीमा राईबिरुद्ध उजुरी दिइसकेका थिए ।

    उजुरी परेको थाहा पाउँदापाउँदै हिमालयन बैंकका सीइओ अशोकशमशेर राणाले संकास्पद नागरिक साहसँग सेटिङ मिलाएर २३ मध्येको ३ रोपनी जग्गालाई १६ करोड ८० लाख रुपैयाँ ऋण दिएका थिए । यसमा ठूलो कमिसन लिएर ऋण प्रवाह भएको देखिन्छ । जीबीको सहकारी ठगीमा हिमालय बैंकका सीइओ अशोक राणासमेत प्रत्यक्ष/अप्रत्यक्ष जोडिएको देखिन्छ ।

    सहकारी ठगी गरी किनेको राईको जग्गा चेनीले खरिद गरेको देख्दादेख्दै राणाले ठूलो रकम कमिसन लिएर ऋण प्रवाह गरेको आरोप छ । करिब ३ रोपनी जग्गाको मूल्यांकन ५० करोड गरी १६ करोड ८० लाख ऋण प्रवाह गर्नुमै राणा, भण्डारी र साहको ठूलो आर्थिक स्वार्थ लुकेको प्रष्ट देखिन्छ ।

    राष्ट्रबैंक र सीआईबीलगायतका निकायले यो प्रकरणमा छानबिन गर्ने हो भने उक्त जग्गा खरिद र ऋण प्रवाहमा पवनकुमार साह, चेनी क्यापिटलदेखि बाजेको सुकुवाका चेतन भण्डारीसमेत कठघरामा पर्ने देखिन्छ ।

    सहकारीको रकम अपचलनमा १ हजार पीडितले उजुरी दिएका छन् । जीबी राई, रास्वपाका सभापति रवि लामिछानेसहित २१ जनाबिरुद्ध सहकारी ठगीमा प्रहरीले मुद्दा दर्ता गरेको छ । जसमा ६ जना पक्राउ परी पुर्पक्षका लागि थुनामा गइसकेका छन् भने १४ जना फरार छन् । फरारमध्ये मुख्य अभियुक्त जीबीबिरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ । उनी मलेसियामा लुकेको आशंका गरिए पनि नेपाल ल्याउन सकिएको छैन ।

    ललितपुरको जग्गाको विषयमा पनि सीआईबीले छानविन गर्ने हो भने हिमालयन बैंकदेखि पवनकुमार साह र चेतन भण्डारीसमेत तानिने देखिन्छ । सीआईबीका एक अधिकारीले भने जीबी राई जोडिएका जग्गाहरुको विषयमा छानविन नरोकिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार