Online Nepal
  • शुक्रबार, २१ मंसिर २०८१
  • ९८ करोड ठगीमा मुछिएका प्रभु मनी ट्रान्सफरका भट्टचनलाई राष्ट्र बैंककै संरक्षण

    ९८ करोड ठगीमा मुछिएका प्रभु मनी ट्रान्सफरका भट्टचनलाई राष्ट्र बैंककै संरक्षण

    अनलाइन नेपाल
  • सोमबार, २६ कार्तिक २०८१
  • 966
    SHARES

    काठमाडौं । प्रभु बैंकका पूर्वअध्यक्ष तथा नेकपा एमालेका समानुपातिक सांसद देवीप्रकाश भट्टचनको ठगी धन्दालाई नेपाल राष्ट्र बैंकले नै संरक्षण गर्दै आएको खुलेको छ । भट्टचन प्रभु मेनेजमेन्ट प्रालिका संस्थापक तथा प्रभु मनी ट्रान्सफरका लगानीकर्ता एवं अध्यक्ष समेत हुन् ।

    डिस होम मिडिया नेटवर्कका मालिक समेत रहेका भट्टचनले देशभरका विभिन्न सहकारीबाट रेमिट्यान्सले भुक्तानी दिएको ९८ करोड रुपैयाँ हिनामिना गरेको खुलेपछि प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै उनीविरुद्ध राष्ट्र बैंकदेखि सिआईबी हुँदै प्रहरीका विभिन्न यूनिटमा उजुरी दिएकी छन् ।



    भट्टचनले विदेशस्थित प्रभु मनी ट्रान्सफरमार्फत नेपाल पठाइएको पैसा हुण्डी गरी विदेशमै बुझ्ने र यता नेपालमा भने विभिन्न सहकारीमार्फत भुक्तानी गराउँदै आएका थिए ।



    ती सहकारीहरुले प्रभु मेनेजमेन्ट प्रालिमार्फत पाउनुपर्ने ९८ करोड रुपैयाँ नपाएपछि हाल अध्यक्ष रहेकी कुसुम लामासँग पैसा मागेर सताएका कारण लामाले नै प्रहरी र राष्ट्र बैंक गुहारेकी हुन् ।

    यसरी मनी ट्रान्सफरको आवरणमा हुण्डी गरेको थाहा पाएपछि राष्ट्र बैंकले कारबाही गर्ने तयारी गरेपनि भट्टचन भने शक्तिको आडमा जोगिदै आएका छन् । कारबाहीबाट बच्न उनी वित्तिय संस्थाबाट बाहिरिएर डिस होमको अध्यक्ष बनेका छन् ।

    एक सहकारीले पाउनुपर्ने रकम भुक्तानी नभएको भन्दै प्रभु मेनेजमेन्टलाई पत्राचार गरेपछि भट्टचनको करोडौं अपचलन बाहिरिएको हो । प्रभु मेनेजमेन्टको तर्फबाट भने हेम महाजुले उक्त रकम भट्टचनले अपचलन गरेकाले उनले फिर्ता दिएपछि मात्रै भुक्तानी दिन सक्ने जवाफ सहकारीलाई दिएका छन् ।

    देशैभरीका रेमिट्यान्स सेवा भुक्तानी गर्ने अन्य सहकारीले पनि प्रभुबाट पैसा नपाएको समेत खुलेको छ । भट्टचनले अपचलन गरेको रकमको टर्चर आफूले भोग्न नसकेपछि कुसुम लामा नेपाल छाड्न बाध्य भएको भट्टचन निकट स्रोतको भनाई छ ।

    प्रभु मेनेजमेन्ट प्रालिले गत साउन २३ गते नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई प्रभु मनि ट्रान्सफरमाथि आवश्यक कारबाही गरिपाउँ भन्दै गभर्नरको कार्यालयलाई बोधार्थ दिएर उजुरी दिएको थियो ।

    प्रभु मनी ट्रान्सफर राष्ट्र बैंकको विदेशी विनिमय विभागबाट इजाजत प्राप्त रेमिट्यान्स कम्पनी हो । प्रभु मनी ट्रान्सफरले प्रभु मेनेजमेन्ट प्रालिलाई आफ्नो सुपर एजेन्ट बनाई विभिन्न सहकारी मार्फत विदेशबाट ल्याएको विप्रेषण (रेमिट्यान्स)हरु वितरण गर्दै आएको छ ।

    प्रभु मनी ट्रान्सफरको संस्थापक एवं अध्यक्ष रहेका भट्टचनलगायत केही व्यक्तिहरु मिलेर प्रभु मेनेजमेन्ट कम्पनीको स्थापना गरेका थिए । प्रभु मनी ट्रान्सफर कम्पनी राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त कम्पनी हो भने उक्त कम्पनीका संस्थापक एवं अध्यक्ष भट्टचन नै प्रभु मेनेजमेन्टको संस्थापक एवं अध्यक्ष समेत हुन् ।

    सहकारीहरुले प्रभु मेनेजमेन्टसँग सहकार्य गरी प्रभु मनी ट्रान्सफरले विदेशबाट ल्याएको विप्रेषण सहकारी मार्फत वितरण गर्ने कार्यमा भट्टचनकै संलग्नता रहँदै आएको थियो । तर, केही समय यता पैसाकै कारण प्रभु मनी ट्रान्सफर र प्रभु मेनेजमेन्टबीच खटपट आयो । त्यसपछि प्रभु मेनेजमेन्टले सहकारीहरुलाई भुक्तानी दिन सकेन ।

    प्रभु मेनेजमेन्टले राष्ट्र बैंकको विदेशी विनिमय विभागलाई दिएको उजुरीमा भनिएको छ–‘सहकारीहरुले प्रभु मनी ट्रान्सफरको विप्रेषण सेवामार्फत लाभकर्ताले प्राप्त गर्नुपर्ने रकम भुक्तानी गरिएको रकम प्रभु मेनेजमेन्टले सहकारीहरुलाई भुक्तानी गर्न असमर्थ भएको हुँदा नेपाल राष्ट्र बैंकले आफ्नो लाइसेन्स प्राप्त संस्था प्रभु मनी ट्रान्सफरबाट सहकारीहरुलाई उनीहरुले पाउनुपर्ने रकम भुक्तान गराई प्रभु मेनेजमेन्टसँग लिनु वा दिनुपर्ने हिसाबसँग मिलान गर्न÷गराउन आदेश दिनु हुन अनुरोध गरिन्छ, अन्यथा सहकारीहरुले प्राप्त गर्नुपर्ने हिसाब फछ्यौट नहुने खण्डमा नेपाल राष्ट्र बैंक नियामक निकाय समेतलाई असर पर्न जाने र नेपाल राष्ट्र बैंकको विश्वसनियतामा समेतमा आँच आउने देखिन्छ ।’

    प्रभु मनी ट्रान्सफरले आफूले विदेशबाट ल्याएको रेमिट्यान्स नेपालमा वितरण गर्ने र उक्त रकम फछ्यौट भएको नभएको हेर्ने जिम्मेवारी पनि आफ्नै हुनाले प्रभु मनी ट्रान्सफरको स्वयम् संस्थापक एवं अध्यक्ष भट्टचन नै बढी जिम्मेवार हुनुपर्ने देखिन्छ ।

    प्रत्यक्ष सरोकार राख्ने सहकारीहरुको जिम्मेवारी प्रभु मनी ट्रान्सफरले लिई सुपर एजेन्ट प्रभु मेनेजमेन्टसँग आन्तरिक हिसाब मिलान गर्न गराउन भन्दै प्रभु मनेजमेन्टले निर्देशन मागेपनि तीन महिना वितिसक्दा समेत राष्ट्र बैंकले कुनै जवाफ दिएको छैन ।

    नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख रेवती नेपालले उक्त उजुरी उपर आफूहरुले केही गर्न नमिल्ने बताए । उनले अनलाइन नेपालसँग भने–‘प्रभु मेनेजमेन्टको बारेमा हामी इन्टरटेन्ट गर्दैनौं । प्रभु मेनेजमेन्ट हाम्रो सरोकारको विषय होइन् । यसको बारेमा मैले पनि केही बुझेको थिएँ, उनीहरुको सेटलमेन्टको कुरो रहेछ । त्यसमा हामीले केही गर्न मिल्दैन ।’

    नेपालको भनाईले पनि उनको भट्टचनसँग साँठगाँठ रहेको प्रष्ट हुन्छ । जबकी कुनै व्यक्तिले राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाविरुद्ध उजुरी हालेको खण्डमा राष्ट्र बैंकले कारबाही गर्दै आएको छ ।

    प्रभु मनी ट्रान्सफर पनि राष्ट्र बैंकबाट इजाजत प्राप्त निकाय भएकाले नेपालले भनेजस्तो प्रभु मनी ट्रान्सफर विरुद्धको उजुरी हेर्नै नमिल्ने तर्क दिनुले पनि उनी नै भट्टचनको मतियार भएको आशंका गर्ने ठाउँ प्रशस्तै देखिन्छ ।

    त्यसो त भट्टचनलाई जोगाउन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन नै लागि परेका छन् । प्रभु बैंकमा अहिले पनि भट्टचनकै हालिमुहाली छ । बैंकका सिइओ अशोक शेरचन र भट्टचन एउटै व्यवसायिक समूहका हुन् । उनीहरु मिलेर बैंकबाट नियम मिचेर विभिन्न कम्पनीमा कर्जा प्रवाह गर्दै आएका छन् । त्यो कर्जा समेत डुब्ने अवस्था देखिएको छ ।

    भट्टचन पक्राउ परेमा यो विषय समेत बाहिर आउने भएकाले सिईओ शेरचन समेत अनुसन्धान रोक्न दौडधुपमा लागेका हुन् । शेरचनले नै राष्ट्र बैंकलाई प्रभावमा पारी भट्टचनलाई कारबाही गर्नबाट जोगाएको बैंक स्रोत बताउँछ ।

    काठमाडौंका एसएसपी रजौरे भन्छन्–छानविन अघि बढेको छ
    भट्टचनविरुद्ध कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि कुसुम लामाले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । असोज ११ गते नै सरकारी वकिल कार्यालयले काठमाडौं प्रहरीमा जाहेरी पठाएको थियो ।

    सरकारी वकिल कार्यालयमार्फत हाल जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको उक्त उजुरीको बारेमा एक महिना वितिसक्दा पनि किन कारबाही प्रकृया अगाडि बढेको छैन ? भन्ने अनलाइन नेपालको प्रश्नमा काठमाडौंका एसएसपी बसन्त रजौरेले कारबाही प्रकृया अगाडि बढिसकेको दावी गरे ।

    एसएसपी रजौरेले अनलाइन नेपालसँग थप भने–‘सरकारी वकिलबाट आएको कुरा अगाडि बढ्छ, प्रमाणहरु खोजिदै छ । प्रहरीसमक्ष आइपुगेको निवेदन उपर कारबाही हुन्छ । अनुसन्धान हुन्छ ।’

    भट्टचनलाई प्रहरीबाट जोगाउन भने प्रभु बैंकका सिइओ शेरचनले चलखेल गरिसकेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार