Online Nepal
  • शुक्रबार, २१ मंसिर २०८१
  • विभागबाट जाँदाजाँदै कोइरालाको विवादास्पद निर्णय, करोड घुस लिएर ट्रेडमार्क चोर्नेको पक्षमा फैसला

    विभागबाट जाँदाजाँदै कोइरालाको विवादास्पद निर्णय, करोड घुस लिएर ट्रेडमार्क चोर्नेको पक्षमा फैसला

    अनलाइन नेपाल
  • बुधबार, २१ कार्तिक २०८१
  • 801
    SHARES

    काठमाडौं । अर्धन्यायिक अधिकार प्राप्त उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाले जाँदाजाँदै विवादास्पद निर्णय गरेका छन् । मन्त्रिपरिषद्ले सरुवा गरेको पत्र पठाइसकेपछि उनले पेशी तोकेर गम्भीर मुद्दामा विवादास्पद निर्णय गरेका हुन् । सामान्यतया सरुवा भइसकेको निर्णय सार्वजनिक भइसकेपछि पेशी तोक्ने र इजलास राख्ने परम्परा छैन ।

    न्यायाधीशहरुको हकमा पनि सरुवापछि इजलासमा बस्दैनन् । सोही प्रकृतिको अधिकार पाएका उद्योग विभागका महानिर्देशक कोइरालाले भने सरुवा भएपछि धमाधम पेशी तोक्दै सेटिङका मुद्दामा फैसला सुनाएका छन् । दशैं अगाडि नै सरुवाको सूचीमा परेका कोइराला तिहारपछि सरुवा भएको स्थानमा जाने योजनामा थिए ।



    राष्ट्रिय योजना आयोगमा सरुवा भएका कोइरालाको ठाउँमा मन्त्रालयले राजेश्वर ज्ञवालीलाई महानिर्देशक बनाएर पठाइसकेपछि पनि इजलास राख्ने काम भएको बताइन्छ । स्रोतका अनुसार मन्त्रालयले कोइरालालाई पेशी नतोक्न र इजलास नराख्न निर्देशन दिएको भए पनि दिनहुँ इजलास राखेर सेटिङ मिलेका मुद्दामा धमाधम फैसला गरेको बताइन्छ ।



    बहुराष्ट्रिय पेप्सी उत्पादक कम्पनीले उत्पादन गर्दै आएको माउन्टेन ड्यू र नेपालको सिंगापुर वेभरेजले उत्पादन गर्दै आएको मनसुन ड्यूमा मनसुन ड्यूलाई समेत आधिकारीकता दिने काम भएको छ ।

    वर्षौंदेखि उत्पादन हुँदै आएको माउन्टेन ड्यूको बजारलाई हस्तक्षेप गर्नका लागि झापामा अवस्थित सिंगापुर वेभरेजले उस्तै नक्कल गरी उद्योग विभागमा मनसुन ड्यू ट्रेडमार्कका लागि निवेदन दर्ता गराएको थियो ।

    उक्त निवेदनविरुद्ध पेप्सिको माउन्टेन ड्यूले आफ्नो उत्पादनसँग मिल्दोजुल्दो नाम र डिजाइन प्रयोग गरी निवेदन दर्ता गराएको हुनाले रोक्नका लागि सिंगापुर वेभरेजविरुद्ध मुद्दा दर्ता गराएको थियो ।

    सुन्दा र देख्दा मनसुन ड्यू र माउन्टेन ड्यू उस्तै देखिन्छ र सुनिन्छ । उपभोक्तालाई सिंगापुर वेभरेजले गरेको सेटिङका कारण जाँदाजाँदै महानिर्देशक कोइरालाले झुक्याएर बहुराष्ट्रिय कम्पनीको उत्पादनको साख गिराउने विवादास्पद निर्णय गर्दै सिंगापुर वेभरेजको पक्षमा फैसला गरेका छन् ।

    सिंगापुर वेभरेजका सञ्चालक रमेश शर्माले पटक–पटक महानिर्देशक कोइरालालाई कार्यकक्ष र बाहिर भेटेर मोलतोल मिलाएपछि जाँदा जाँदै इजलास राख्ने काम भएको थियो ।

    सभामुख देवराज घिमिरेका निजी सचिवमार्फत् पनि कोइरालालाई सिंगापुरको पक्षमा फैसला गरिदिन लविङ भएको बताइन्छ । सभामुख घिमिरे, पूर्व महान्यायाधिवक्ता अग्नि खरेल लगायत एमालेका झापाका नेताहरुलाई पकडमा लिएर पटक–पटक उद्योगको समेत निरीक्षण गराएका शर्माले सोही राजनीतिक आडभरोसालाई उद्योगका गलत क्रियाकलापमा प्रयोग गराउँदै आएका छन् ।

    उद्योग मन्त्री दामोदार भण्डारीलाई निर्यात अनुदानका लागि शर्माले दबाव दिएको समेत बताइन्छ । अधिकांश विदेशी कच्चा पदार्थ भित्र्याएर उत्पादन गरिएको आफ्नो उत्पादनलाई स्वदेशी कच्चा पदार्थबाट उत्पादन भएको देखाएर निर्यातमा अनुदान लिने प्रयत्न गरेका शर्माले लाखौं बुझाएर बहुराष्ट्रिय कम्पनीले प्रयोग गर्दै आएको ट्रेडमार्कसँग मिल्दोजुल्दो आफ्नो उत्पादन मनसुन ड्यूलाई मान्यता दिने काम गरेका छन् ।

    यसअघि कानूनका उपसचिव दिपक घिमिरे जो अहिले बाँके जिल्ला अदालतको न्यायाधीश समेत रहेका छन् । उनलाई प्रयोग गरेर बोटलर्स नेपालले वर्षौदेखि अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्दै आएको कोकाकोलाको ट्रेडमार्कसँग मिल्दोजुल्दो सिंगापुर वेभरेजको क्लबकोलालाई आधिकारीकता दिने काम गरिएको थियो ।

    यसमा पनि लाखौंको सेटिङ सिंगापुर वेभरेजले गरेको बताइन्छ । स्रोतका अनुसार सिंगापुरका सञ्चालक रमेश शर्मा जो एमाले निकट मानिन्छन्, उनलाई प्रयोग गरेर घिमिरे न्यायाधीश बन्न सकेको समेत बजार हल्ला व्याप्त छ ।

    बहुराष्ट्रिय कम्पनीले प्रयोग गर्दै आएका ट्रेडमार्कसँग मिल्दाजुल्दा नाम राखी सिंगापुर वेभरेजले दर्ता गरेका ट्रेडमार्कलाई धमाधम मान्यता दिने उद्योग विभागका तत्कालीन नेतृत्व र निवर्तमान महानिर्देशक यज्ञराज कोइरालामाथि कारबाही हुनु त के झन् पुरस्कृत गर्ने काम भएको छ । तिवारी अहिले सुनसरी जिल्लाका सीडीओ बनाइएका छन् भने कोइराला योजना आयोगमा पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार