Online Nepal
  • शुक्रबार, २१ मंसिर २०८१
  • व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै चौरपाटीका किसान

    व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै चौरपाटीका किसान

    मालिका विकास संघले बाँड्यो ९० वटा टनेल

    पूर्ण बहादुर साउँद
  • सोमबार, २६ कार्तिक २०८१
  • 1.9K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका–१ का नविन साउँद यति बेला तरकारी खेतीका लागि टनेल निर्माणमा व्यस्त छन् । उनी पहिलो पटक नयाँ प्रविधि अपनाएर तरकारी खेती गर्ने तयारीमा जुटेका हुन् ।

    गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, चौरपाटी गाउँपालिको समन्वय र मालिका विकास संघ नेपालको साझेदारीमा सञ्चालित जलवायुमैत्री गाउँ परियोजना अन्तर्गत किसानलाई टनेल वितरण गरिएको छ ।



    सोही मालिका विकास संघले टनेल निर्माणका लागि आवश्यक सामाग्री दिएपछि पालिकाको वडा नम्बर १ स्थित खान्डाँडा टोलका स्थानीय साउँदले टनेल बनाएका हुन् ।



    वर्षौँदेखि कृषिबाटै गुजारा चलाउँदै आएका नविनले अहिले नयाँ प्रविधिप्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्ने तयारी थालेका छन् ।

    उनी आफूलाई व्यावसायिक कृषि खेतीतर्फ आकर्षण गराउनुमा मालिका विकास संघको योगदान रहेको बताउँछन् । सो संघले आफूहरूलाई टनेल निर्माणका लागि आवश्यक सामाग्रीका साथै विउविजन पनि दिएको बताए । अब आफू तरकारीमा आत्मनिर्भर हुने उनको विश्वास छ ।

    उनले भने, “पहिला बजारबाट टमाटर लगायतका तरकारी किने खान्थ्यौँ । अब भने आफ्नै बारीको तरकारी खान मिल्छ । बजारमा बेच्न नमिले पनि खानको लागि बजारबाट किन्नु पर्ने बाध्यताको अन्त्य हुन्छ होला ।”

    आफूलाई व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गरेको भन्दै उनले मालिका विकास संघलाई धन्यवाद व्यक्त गरे । उनी मात्रै होइन सो टोलमा करिब एक दर्जन किसान टनेल निर्माण गरिरहेका छन् ।

    मालिका विकास संघले किसानहरूलाई कृषिमा आत्मनिर्भर बनाउन चौरपाटी गाउँपालिकामा काम गरिरहेको छ । केही वर्ष अघिदेखि काम गर्दै आएको संघले यसअघि पनि पटक पटक किसानलाई विउविजन वितरण गरेको थियो ।

    त्यस यता स्थानीय किसानहरूले खासै बजारबाट गोलभेँडा लगायतका तरकारी किन्नु परेको छैन । तर पनि पानीको अभावका कारण किसानहरूले तरकारी लगायतका खेती गर्न सकेका छैनन् ।

    चौरपाटी गाउँपालिकाका विभिन्न टोलमा पिउनलाई समेत पानी हुँदैन । त्यस कारण तरकारी लगायतका खेती गर्न किसानहरू समस्या झेलिरहेका छन् ।

    पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १ र २ का किसानहरूलाई कृषि खेतीका लागि टनेल हस्तान्तरण गरेको छ । मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले वडा नम्बर १ र २ का ९० जना कृषकलाई टनेल वितरण गरिएको जानकारी दिए ।

    उनले वडा नम्बर १ का ११ वटा समूहका ५५ जना सदस्य र वडा नम्बर २ का ७ वटा समूहका ३५ जना सदस्यलाई तरकारी खेतीका लागि टनेल वितरण गरिएको बताए । उनका अनुसार एक समूहका पाँच जना सदस्यलाई टनेल हस्तान्तरण गरिएको हो । यस्तै पानीको समस्या भएको ठाउँमा थोपा सिँचाईका लागि ड्रम र पाइप सहयोग गरिएको छ ।

    जलवायु परिवर्तनका कारण उत्पादन घटिरहेको भन्दै सो परियोजनामार्फत किसानलाई विभिन्न सहयोग गरिँदै आएको छ । यो परियोजनाले जलवायुमैत्री अनुकलन कृषि प्रविधि अपनाएर कृषकलाई कृषि क्षेत्रतर्फ आकर्षित गरिरहेको छ ।

    यसको लक्ष्य ग्रामीण भेगका नागरिकको आम्दानी बढाउने, आधुनिक कृषि गर्न प्रेरित गर्ने, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने रहेको बताइएको छ । सो परियोजनाका अधिकृत कठरियाले किसानहरूलाई विभिन्न विउविजनहरु पनि बाँडिएको बताए ।

    उनले गोलभेँडा, केराउ, प्याज, मुला, काउली, सिमी, बोडीलगायतका विउविजन वितरण गरिएको जानकारी दिए । यो परियोजनाले अहिले सोकट र सिउँडीमा काम गरिरहेको छ ।

    आगामी वर्षहरूमा अन्य वडामा पनि काम गर्ने आफ्नो योजना रहेको उनले बताए । यसअघि सो परियोजना अन्तर्गत किसानहरुको खेतको माटोसमेत परिक्षण गरिएको थियो ।

    यो परियोजनाले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, माटोको उर्वराशक्ति पहिचान, र जलवायु मैत्री कृषि अभ्यास अवलम्बन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

    यसै गरी आइतबारबाट तरकारी खेती सम्बन्धी तालिम पनि सुरु गरिएको छ । यो तालिम १८ वटै समूहका किसानहरूलाई दिइने परियोजना अधिकृत कठरियाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार