काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तार गरी ‘पार(हिमाली समृद्धि’को नयाँ अध्याय संयुक्त रूपमा अघि बढाउन आह्वान गरेका छन् ।
चीनको चारदिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले बेइजिङस्थित बेइजिङमा रहेको नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा उपलब्ध आर्थिक अवसर र जनसाङ्ख्यिकीय सम्भावनालाई उजागर गरे। उनले लगानीमैत्री वातावरण निर्माण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।
सम्मेलनकै क्रममा उनले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग प्रत्यक्ष छलफल गरेका थिए। सो अवसरमा नेपाल लगानी बोर्डका प्रतिनिधिहरूले नेपालमा लगानीका सम्भावित क्षेत्रबारे विस्तृत प्रस्तुति दिएका थिए।
भ्रमणका क्रममा मन्त्री खनालले चीनको राष्ट्रिय जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गर्दै नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन्।
त्यस्तै, उनले चिनियाँ विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा भएको भ्रमणका क्रममा विभिन्न कूटनीतिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाए।
मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकनसमेत गरे। राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन ऐतिहासिक मित्रताको महत्वपूर्ण प्रतीकका रूपमा चिनिन्छ, जसले नेपाली कला, वास्तुकला र सांस्कृतिक प्रभावको अन्तर्राष्ट्रिय पहिचानलाई उजागर गर्छ।
त्यसैगरी, उनले चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नयाँ सरकारका प्राथमिकता तथा अन्तरराष्ट्रिय सम्बन्धबारे धारणा राखेका थिए।
मन्त्री खनाल भोलि असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको दूतावासले जनाएको छ।