काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२६ को उपाधि घरेलु टोली भारतले जितेको छ ।
गोवाको जवहरलाल नेहरु रङ्गशालामा हिजो भएको फाइनलमा भारतले बङ्गलादेशलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । योसँगै भारतले साफ महिला प्रतियोगितामा छैटौँ पटक उपाधि जित्न सफल भयो ।
भारतको जीतमा सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक गोल गरे । बङ्गलादेशका लागि रितु पोर्ना चक्माले एक गोल गरिन ।
सेमिफाइनलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हराएको थियो भने भारतले भुटानलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।
पछिल्ला दुई संस्करण सन् २०२२ र २०२४ मा च्याम्पियन बनेको बङ्गलादेश यस पटक उपविजेतामै सिमित बनेको हो ।