धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी निनाचन्द्र राईले पार्टी छाडेका छन् ।
बुधबार बिहान धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजबाट श्रम संस्कृति पार्टीसँग सम्बन्ध नरहेको घोषणा गरेका हुन् ।
निनाचन्द्रले आफूसहित १०० भन्दा बढीले पार्टी छाडेको दाबीसमेत गरेका छन् ।
स्वतन्त्र रूपमै मेयर लड्ने अभियानमा रहेका निनाचन्द्रले आफूलाई साम्पाङले धोका दिएको भन्दै पार्टी परित्याग गरेको बताएका छन्।
निनाचन्द्र हर्कलाई स्वतन्त्रमा मेयर जिताउन सक्रियतापूर्वक साथ दिने व्यक्ति हुन् । धरानको मेयरमा आश्वासन दिएर हर्कले गत वैशाखमा उनलाई पार्टी प्रवेश गराएका थिए ।
तर हर्कले केही दिनअघि मात्रै पार्टीका तर्फबाट धरानको भावी मेयरको उम्मेदवारमा ७९ को चुनावमा एमालेबाट वडाध्यक्ष जितेका धनबहादुर राईको नाम घोषणा गरेका छन् ।
साम्पाङको उक्त घोषणापछि निनाचन्द्रले पार्टी परित्याग गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै निनाचन्द्रले भने- 'उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईं नै कन्फर्म हो भन्नुभएको थियो । मैले बोलेपछि सकियो भनेर पार्टीमा ल्याउनुभयो । मेयरको आँकाँक्षी अरु पनि छन् नी भन्दा तपाँई नैँ हो भनेर भन्नुभो अहिले आएर अरूलाई नै अघि सार्नुभयो ।'