Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनटीएको अध्यक्षमा बिचौलियाको सेटिङ : मन्त्रीदेखि कर्पोरेट घरानासम्मका आ–आफ्नै पात्र

एनटीएको अध्यक्षमा बिचौलियाको सेटिङ : मन्त्रीदेखि कर्पोरेट घरानासम्मका आ–आफ्नै पात्र

सोमवार , जेठ १८, २०८३

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को नयाँ अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेसँगै बिचौलिया, कर्पोरेट घराना र राजनीतिक शक्तिको चलखेल पुरानै शैलीमा शुरु भएको छ । 

नियमनकारी निकायलाई स्वतन्त्र र प्रतिस्पर्धी बनाउने उद्देश्यले सूचना निकालेको दाबी गरिए पनि भित्री रूपमा भने सञ्चारमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र विभिन्न स्वार्थ समूहका बिचौलियाहरूको मिलेमतोमा अध्यक्षका लागि प्रारम्भिक छनोट (सर्टलिस्ट) मा पार्ने पात्रहरूको टुंगो लागिसकेको उच्च स्रोतले जनाएको छ ।

अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएकोमा शुरुमा १० जनाको नाम सर्ट लिष्टमा निकाल्ने तयारी भएको छ । 

अनलाइन नेपाललाई प्राप्त जानकारीअनुसार टेलिकम क्षेत्रमा आफ्नो स्वार्थ अनुकूल निर्णय गराउन विभिन्न व्यापारी र नेताहरूले आ–आफ्ना गोटी सार्न थालिसकेका छन् । 

प्रारम्भिक छनोटमा नाम निकाल्न सेटिङ मिलाएकामध्ये प्रमुख ६ अनुहार र उनीहरूका गडफादर’ सक्रिय देखिएका छन् । 

जसमा नेपाल टेलिकमका पूर्व निमित्त प्रवन्ध निर्देशक बुद्धि आचार्य सबैभन्दा अगाडि देखिएका छन् । 

प्राधिकरणको नेतृत्व हत्याउने दाउमा रहेका आचार्यलाई कर्पोरेट स्वार्थमा अगाडि सारिएको छ । विशेषगरी एनसेल र नेपाल टेलिकमको विलिङ सिस्टममा अनेक जालेझेल गरी समय लम्ब्याउँदै आएको चिनियाँ कम्पनी एसिया इन्फोका नेपाली प्रतिनिधि लोकेन्द्र कार्कीको जोडबलमा आचार्यलाई अगाडि बढाइएको छ ।

एनटीएको अध्यक्ष छनोटमा गम्भीर स्वार्थको द्वन्द्व, मन्त्रीका अष्ट्रेलियाका रुममेटदेखि दीपक भट्टका सहयोगीसम्म दौडमा ! एनटीएको अध्यक्ष छनोटमा गम्भीर स्वार्थको द्वन्द्व, मन्त्रीका अष्ट्रेलियाका रुममेटदेखि दीपक भट्टका सहयोगीसम्म दौडमा !

लोकेन्द्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीका भाइ समेत हुन् । 

अख्तियारले एशिया इन्फोलाई विलिङ घोटाला प्रकरणमा मुद्दा चलाउँदा समेत लोकेन्द्रहरुकै चलखेलका कारण टेलिकमले विलिङ प्रणालीको टेण्डर अगाडि बढाउन सकेको छैन । लोकेन्द्र कार्की अर्को चिनियाँ कम्पनी ह्वेल क्लाउडका नेपाली एजेन्ट पनि हुन् । 

उनले टेलिकममा अर्बौंको ठेक्का हत्याउँदै आएका छन् । टेलिकमको प्रवन्ध निर्देशक नियुक्तिमा समेत कार्कीले चलखेल गर्दै आइरहेका छन् । 

काग्रेस नेतृ आरजु राणा शक्तिमा रहँदा लोकेन्द्रले टेलिकम मात्र नभई नेपाली सेनाको हतियारदेखि विभिन्न खरिदको ठेक्का समेत हत्याउँदै आएका थिए । लोकेन्द्रमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत छानविन गरिरहेको छ । 

बुद्धि आचार्य टेलिकमको निमित्त एमडी हुँदा उनै लोकेन्द्र कार्की जोडिएको एक चिनियाँ कम्पनीको भुक्तानीमा सहयोग गरी सम्बन्ध विस्तार गरेका थिए । आचार्यलाई एनसेल आजियाटाका सञ्चालक शतिशलाल आचार्यले समेत बोकेर हिंडिरहेको टेलिकम क्षेत्रमा चर्चा छ । 

बुद्धि आचार्य निकट एनसेलमा फाइनान्सियल कन्सलटेन्ट हेर्ने सूर्यभक्त पोखरेलले शतिशलालसँग सम्बन्ध विस्तार गराइदिएपछि उनी एनसेलको पनि उम्मेदवार बनेको बताइन्छ । 

शतिशलाल भने अहिले सीआईबीको वारेन्ट सूचीमा रहेका छन् । उनी सिंगापुर बसेर सेटिङमा ब्यस्त रहेको स्रोत बताउँछ । 

पोखरेल नेपाल टेलिकमको ११ औं तहबाट रिटायर्ड भएका कर्मचारी समेत हुन् । 

त्यसैगरी, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको सचिवालयका ‘प्रिय पात्र’ का रूपमा चिनिएका दीपकराज उप्रेती पनि शक्तिको आडमा अध्यक्ष बन्ने दौडमा छन् । मन्त्रीको कोर टिमसँगको निकटता नै उनको मुख्य हतियार बनेको मन्त्रालय स्रोत बताउँछ । 

त्यस्तै सञ्चारमन्त्री तिमिल्सिनाले अस्ट्रेलियामा आफूसँगै बसेका दिपेश शिवाकोटीलाई अगाडि बढाएका छन् । मन्त्रीसँगको पुरानो चिनजान र सामीप्यताकै कारण उनी अध्यक्षको बलियो दाबेदारको रूपमा प्रस्तुत भएका हुन् । 

प्रहरी सेवाबाट अवकाश प्राप्त डा. इन्जिनियर राजीव सुब्बा सबैभन्दा धेरै कर्पोरेट स्वार्थ समूहको समर्थन प्राप्त उम्मेदवार मानिन्छन् । 

नयाँ मोबाइल सेवा प्रदायकको लाइसेन्स हत्याउन चलखेल गर्दै आएका विचौलिया दीपक भट्टले आफ्नै किङ्स कलेजमा पढाउने सुब्बालाई आफू अनुकूल काम गराउन अगाडि सारेका हुन् । भट्ट भने अहिले सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका छन् । 

सुब्बालाई मोबाइल व्यापारी दीपक मलहोत्रा र रामेश्वर थापाको पनि दरिलो साथ छ । मलहोत्रा दूरसञ्चार प्राधिकरणमार्फत एमडीएमएस प्रणाली लागु गराएर व्यापारिक फाइदा लिन चाहन्छन् । 

त्यस्तै, अर्का व्यापारी रामेश्वर थापा प्राधिकरणलाई अर्बौं पर्ने ‘ड्राइभ टेस्ट’ सँग सम्बन्धित उपकरणहरू सप्लाई गर्ने पुरानै योजनालाई सुब्वामार्फत निरन्तरता दिन खोजिरहेका छन् ।

जनक शिक्षा सामग्री केन्द्रका पूर्वप्रमुख अनिलकुमार झा जसरी पनि अध्यक्ष बन्ने दौडमा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने झा ‘आर्थिक चलखेल’ मा अब्बल मानिन्छन् । 

उनलाई आरजु देउवा निकट विचौलिया रामचन्द्र भट्टले समेत बोकेर हिंडिरहेको स्रोत बताउँछ । 

हाल प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अर्जुन घिमिरे पनि अध्यक्ष बन्न लालायित छन् । प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलका नातेदार घिमिरे कर्मचारी वृत्तमा ‘डिसहोमका प्रिय पात्र’ को रूपमा चिनिन्छन् । 

घिमिरेले हालका सञ्चारमन्त्री र एमाले नेताहरूको च्यानल प्रयोग गरी पूर्ण अध्यक्ष बन्ने लबिङ तीव्र पारेका छन् । 

मन्त्रालयले खुला प्रतिस्पर्धाको नाममा सूचना जारी गरे पनि यी पात्रहरूको पृष्ठभूमि र उनीहरूलाई बोक्ने स्वार्थ समूहको प्रकृति हेर्दा दूरसञ्चार प्राधिकरणको आगामी नेतृत्व निकै विवादास्पद बन्ने निश्चित देखिएको छ । 

राज्यलाई अर्बौं राजस्व बुझाउने र नागरिकको प्रत्यक्ष सरोकार जोडिएको टेलिकम क्षेत्रको नियमनकारी निकायमा ‘क्रोनी क्यापिटालिजम’ (सेठ–नेता साठगाँठ) को नाङ्गो नाच हाबी हुनुले सुशासनको नारा दिने सरकारमाथि गम्भीर प्रश्न चिह्न खडा गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077