काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीविरुद्ध निर्णायक ‘एक्सन’ सुरु गरेको छ ।
मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र सबै बेटिङ एप र सम्बन्धित वेबसाइट बन्द गर्न कडा निर्देशन दिएपछि देशभर ती सेवामाथि प्रतिबन्ध लगाउने प्रक्रिया तीव्र रूपमा अघि बढेको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरूसँग बसेको बैठकले यस्तो निर्णय गर्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
मन्त्रालयको निर्देशनलगत्तै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र अपरेटरहरूलाई पत्राचार गरी बेटिङ एप र वेबसाइट बन्द गर्ने प्रक्रिया सुरु गरिसकेकोले सोही अनुसारको प्रक्रिया अगाडि बढेको प्राधिकरणले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ४२ अनुसार अवैध सट्टेबाजी बन्द गर्ने निर्णय गरिएको थियो । अवैध आर्थिक कारोबार र पुँजी पलायनलाई रोक्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो ।
सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालयका महाशाखा प्रमुखहरूलाई जनताले प्रत्यक्ष महसुस गर्न सक्ने गरी सेवा प्रवाहको कार्ययोजना पेस गर्न समेत निर्देशन दिएका छन् । साथै, दैनिक रिपोर्टिङ र मासिक समीक्षा प्रणाली लागू गर्दै कार्यसम्पादनमा कडाइ गरिने चेतावनीसमेत दिएका छन्।