Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति ६ सीमाविदको खेद, स्पष्टीकरण र क्षमायाचनाको माग

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति ६ सीमाविदको खेद, स्पष्टीकरण र क्षमायाचनाको माग

आइतवार , जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति ६ जना सीमाविदले गम्भीर आपत्ति जनाउँदै खेद व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी आफूलाई प्राप्त भएको अभिव्यक्ति दिएपछि उक्त भनाइप्रति सीमाविदहरूले सार्वजनिक रूपमा आपत्ति जनाएका हुन् ।

सीमाविदहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले आफूहरूलाई आश्चर्यचकित बनाएको उल्लेख गर्दै यसले जनमानसमा अनावश्यक भ्रम सिर्जना गरेको दाबी गरिएको छ।

विज्ञप्तिमा हस्ताक्षर गर्नेमा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डा. पीताम्बर शर्मा, प्राध्यापक डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुंगेल रहेका छन् ।

सीमाविदहरूले नेपाल–भारत संयुक्त सीमा आयोगले करिब ९८ प्रतिशत काम सम्पन्न गरिसकेको भए पनि नेपालले भारतको सीमा मिचेको भन्ने कुनै आधिकारिक निष्कर्ष सार्वजनिक नभएको स्पष्ट पारे । बरु महाकाली नदी मुहान, सुस्ता लगायतका क्षेत्रमा अझै सीमाविवाद कायम रहेको उनीहरूको भनाइ छ।

राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्ता संवेदनशील विषयमा तथ्य र प्रमाणका आधारमा मात्र धारणा राखिनुपर्ने उनीहरूको जोड छ।

विज्ञप्तिमा प्रधानमन्त्रीले “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति कुन आधारमा दिएको हो भन्ने प्रश्न उठाउँदै त्यसबारे स्पष्टिकरण दिनुपर्ने माग गरिएको छ।

त्यसैगरी उक्त अभिव्यक्तिबाट आम नागरिकमा उत्पन्न भ्रम हटाउन प्रधानमन्त्रीले सार्वजनिक रूपमा स्पष्टीकरण दिनुका साथै क्षमायाचनासमेत गर्नुपर्ने सीमाविदहरूको माग छ।

सीमाविदहरूले प्रतिनिधिसभामा व्यक्त उक्त अभिव्यक्तिलाई संसदको अभिलेख (रेकर्ड) बाट हटाउन समेत सभामुख समक्ष आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077