काठमाडौं । नेपाली कांग्रेसकी मुख्य सचेतक वासना थापाले प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएकी छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मुख्य सचेतक थापाले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई नेपालले भारतको सीमा मिचेको विषयमा प्रमाण दिन माग गरेकी हुन् ।
प्रधानमन्त्री शाहले आज संसदको रोष्टममा उभिएर नेपालबाट पनि भारतको भूमी मिचिएको बताएका थिए ।
उक्त अभिव्यक्तिप्रति आपत्ती जनाउँदै मुख्य सचेतक थापाले नेपालले भारतको कुन भूमी मिचेको हो ? जानकारी दिनुपर्ने बताइन् ।
उनले भनिन्- 'प्रधानमन्त्रीज्युले भन्नुभएको थियो, नेपाल भारत सीमा विवाद छन्, तर प्रधानमन्त्रीले नेपालबाट पनि भारतको भुमी मिचियो भन्नुभयो, यो कहाँनेर मिचिएको हो ? यो छिटो भन्दा छिटो हामीलाई पनि अवगत गराउनुपर्यो र यो गम्भीर र आपत्तीजनक विषय हो।'
प्रधानमन्त्रीको भनाइलाई गम्भीर र आपत्तिजनक विषय भएको बताउँदै तथ्य र प्रमाण भए संसद तथा जनतालाई स्पष्ट जानकारी गराउनु पर्ने उनको भनाई छ ।