काठमाडौं । शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा कुनै पनि पूर्वप्रधानमन्त्रीहरु सहभागी भएका छैनन् ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिन हरेक वर्ष जेठ १५ मा मनाइने गणतन्त्र दिवसमा पुर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रणा गर्ने चलन छ ।
तर यसपटकको १९औँ गणतन्त्र दिवसमा कोही पनि पूर्वप्रधानमन्त्रीहरु सहभागी भएनन् ।
अघिल्ला वर्षहरुमा गणतन्त्र दिवसको समारोहमा नियमित उपस्थित हुने गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत यस वर्ष समारोहमा सहभागी भएनन् ।
यता पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको पनि उपस्थिति भएनन् ।
पूर्वप्रधानमन्त्री ओली सचिवालयले गणतन्त्र दिवसको समारोहमा सरकारबाट निमन्त्रणा नआएको दावी गरेको छ ।
यदि सरकारले बोलाएकै थियो भने पनि उनी जानसक्ने थिएनन् । स्वास्थ्यका कारण चिकित्सकहरुले घरबाहिर निस्कन बन्देज लगाएका कारण ओलीले भेटघाट कम गर्नुका साथ जरुरी बैठक र छलफल पनि घरमै गर्ने गरेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ भने रुघाखोकी र जरो आएका कारण नगएका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
यद्यपी प्रचण्डलाई पनि पूर्वप्रधानमन्त्री’ को हैसियतमा नभएर सांसदको हैसियतमा निम्ता गएको बुझिएको छ ।
अर्का पूर्वप्रधानमन्त्री देउवा भने जेनजी आन्दोलनपछि विदेशमै छन् ।
पूर्वप्रधानमन्त्री ओली र प्रचण्ड सचिवालयले निमन्त्रणा नआएको दावी गरेपनि गणतन्त्र दिवसमा पाहुनाहरू डाक्ने कार्य भने गृह मन्त्रालयले गर्दै आएको छ ।
समारोह आयोजनाका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन हुन्छ र गृहसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले कार्यक्रमको व्यवस्थापन गर्छ । गृह स्रोतले पनि हरेक वर्षजस्तै यस वर्ष पनि सबै पूर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रणा गरिएको बताएको छ ।
हरेक वर्षझैँ आज जेठ १५ गते सरकारले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ।
१९औँ गणतन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सुरक्षा अङ्गका प्रमुख तथा पदाधिकारी, स्थानीय तहका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राष्ट्रसेवक कर्मचारी उपस्थित थिए ।
तर. यसपटक गणतन्त्र दिवसमा विगतका वर्षहरूमा भन्दा एउटा फरक दृश्य देखियो । यसपटक समारोहमा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गरे ।