'न रास्वपाले सभापतिको विकल्प खोजिरहेको छ न जनताले खोजेका छन्'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले सभापतिमा रवि लामिछानेको विकल्प सोच्न पनि नसकिने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीमा सभापति लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताएका हुन् ।
पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले भने- 'राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिरहेको छैन र नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन् । सभापतिमा रवि लामिछानेको विकल्प सोच्न पनि सकिँदैन।'
यसैबीच उनले पार्टीभित्र गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
पार्टीभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भएपनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेको बताए ।
साथै उपनेता पराजुलीले यसपटक विनियोजन विधेयक र नीति तथा कार्यक्रममाथिको छलफल विगतको तुलनामा द्रुत गतिमा भएपनि अर्थपूर्ण रहेको दाबी गरेका छन् । प्रतिपक्षले उठाएका महत्त्वपूर्ण सुझावहरूलाई बजेटमा समेट्न प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिवद्धता जनाएको उनको भनाइ थियो।