Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब घरमै बसेर प्रहरीमा उजुरी दिन सकिने, ‘नेपाल पुलिस एप’ सञ्चालनमा

अब घरमै बसेर प्रहरीमा उजुरी दिन सकिने, ‘नेपाल पुलिस एप’ सञ्चालनमा

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । नेपाल प्रहरीले नागरिकको सहजताका लागि अनलाइनमार्फत उजुरी तथा निवेदन दिन सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। अब सर्वसाधारणले घर, कार्यालय वा जहाँसुकैबाट पनि मोबाइल एप प्रयोग गरी प्रहरीमा उजुरी दर्ता गर्न सक्ने भएका छन्।

प्रहरीका अनुसार ‘नेपाल पुलिस मोबाइल एप’ मार्फत घटना भएलगत्तै तत्काल जानकारी दिन, उजुरी दर्ता गर्न तथा त्यसको प्रगति ट्र्याक गर्न सकिने व्यवस्था मिलाइएको हो ।

यो सेवा प्रयोग गर्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइओएस प्रयोगकर्ताले ‘एप स्टोर’बाट ‘नेपाल पुलिस एप’ डाउनलोड गर्नुपर्नेछ।

एप डाउनलोड गरेपछि प्रयोगकर्ताले नाम, मोबाइल नम्बर, इमेल र ठेगाना भरेर साइन अप गर्नुपर्नेछ। त्यसपछि इमेलमा प्राप्त हुने ओटीपी कोड भेरिफाई गरेपछि सेवा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

लगइन गरेपछि ‘उजुरी तथा निवेदन’ खण्डमा गई घटनाको प्रकार छनोट गर्नुपर्नेछ। त्यसपछि घटनाको विस्तृत विवरण लेख्दै म्यापमा घटना भएको स्थान तोक्न सकिनेछ। साथै प्रमाणका रूपमा फोटो, भिडियो वा अडियोसमेत अपलोड गर्न सकिने व्यवस्था गरिएको छ।

प्रहरीका अनुसार एपमार्फत पठाइएको उजुरी सीधै सम्बन्धित जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको ड्यासबोर्डमा पुग्नेछ। त्यसपछि प्रहरीले घटनाको प्रकृति अनुसार तत्काल अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाउनेछ।

त्यसैगरी, उजुरी दर्ता भएपछि सेवाग्राहीले आफ्नो निवेदनको अवस्था र भइरहेको कारबाहीको प्रगति एपमै हेर्न सक्नेछन्। आवश्यक परे प्रहरी र उजुरीकर्ताबीच च्याटमार्फत प्रत्यक्ष संवाद गर्न सकिने सुविधा पनि समावेश गरिएको छ।

प्रहरीले यस प्रणालीले उजुरी प्रक्रिया छिटो, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077