एजेन्सी । अमेरिका र चीनबीच इरानलाई आणविक हतियार बनाउन नदिन ऐतिहासिक सहमति भएको छ ।
बेइजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने विषयमा महत्त्वपूर्ण सहमति भएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दुवै शक्ति राष्ट्र इरानको आणविक महत्त्वाकांक्षालाई रोक्नुपर्ने पक्षमा एकमत देखिएका छन् । विश्व राजनीतिमा तनाव बढिरहेका बेला ट्रम्प र सीबीचको यो सहमतिले मध्यपूर्वको सुरक्षामा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यसैबीच, चिनफिङ र ट्रम्पबीचको वार्तापछि दुवै पक्षले छलफल र सहमतिका विषय समेटेर विज्ञप्ति जारी गरेका छन्।
तर, दुई पक्षको विज्ञप्तिले पनि उनीहरुको अलग-अलग प्राथमिकता प्रस्ट पारेका छन् । चीनले जोड दिएको कुरालाई अमेरिकाले छुटाएको छ भने अमेरिकाले जोड दिएको कुरालाई चिनियाँ पक्षले छुटाएको छ।
सीले ट्रम्पलाई ताइवानबारे निकै गम्भीर चेतावनी दिएको चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। द्विपक्षीय सम्बन्धलाई ठिकसँग नसम्हाल्ने हो भने दुई देशबीच द्वन्द्व हुने सीले बताएका छन्।
तर, यो कुरा ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन।
'दुवै पक्षले हाम्रो दुई देशबीच आर्थिक सहयोग बढाउने उपायहरूबारे छलफल गरे, जसमा अमेरिकी व्यवसायका लागि चीनमा बजार पहुँच विस्तार गर्ने र हाम्रो उद्योगहरूमा चिनियाँ लगानी बढाउने विषय समावेश थिए,' ह्वाइट हाउसले भनेको छ।
ह्वाइट हाउसको विज्ञप्ति मुख्यगरी व्यवसाय र व्यापारमा केन्द्रित छ। जसमा अमेरिकी तेल किन्नु चीनको हितमा भएको र हर्मुज जलमार्गमा सैन्य अवरोधको चीनले विरोध गर्ने कुरा उल्लेख छ।
तर, यी दुवै विषय चिनियाँ विज्ञप्तिमा समेटिएका छैनन्। रचनात्मक, रणनीतिक र स्थिर सम्बन्ध’को अवधारणाले दुई देशको सम्बन्धलाई अब निर्देशित गर्ने सहमति भएको चिनियाँ विज्ञप्तिमा उल्लेख छ।
जबकि यसले ह्वाइट हाउसको विज्ञप्तिमा ठाउँ पाएको छैन। दुई देशबीचको सबैभन्दा विवादित मानिने ताइवान जस्तो संवेनदशील विषयमा भएको मौनताले भविष्यमा नयाँ रणनीतिक मोड लिन सक्ने विश्लेषकहरू बताउँछन् ।