एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ताका क्रममा युक्रेन युद्ध अन्त्यको विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन् ।
रोमानियामा आयोजित एक अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिका–युक्रेनबीच निरन्तर संवाद भइरहेको बताएका हुन् ।
उनले युक्रेनमाथि जारी रुसी आक्रमण रोक्न विश्व शक्तिहरूको सक्रिय कूटनीतिक भूमिका आवश्यक रहेको उल्लेख गरे ।
'हामी हाम्रा अमेरिकी साझेदारसँग निरन्तर सम्पर्कमा छौँ,' जेलेन्स्कीले भने,'युक्रेनका लागि अमेरिकी भूमिकाप्रति हामी आभारी छौँ र आशा गर्दछौँ कि रुसविरुद्धको युद्ध अन्त्य गर्ने विषय अहिले पनि अन्तर्राष्ट्रिय एजेन्डाको केन्द्रमै रहनेछ ।'
चीन रुसको महत्वपूर्ण आर्थिक तथा राजनीतिक साझेदार मानिन्छ । यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्प बुधबार चीन पुगेका छन् ।
बेइजिङमा ट्रम्प र सी जिनपिङबीच प्रविधि, व्यापार, विश्व सुरक्षा तथा युक्रेन युद्धलगायत विषयमा उच्चस्तरीय छलफल भइरहेको छ ।