काठमाडौं । प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ ।
सभामुख डीपी अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् ।
संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
'राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ,' जारी सिफारिस पत्रमा भनिएको छ ।
निजामती सेवामा २४ वर्षको अनुभव भएका सङ्खुवासभा खाँदबारी नगरपालिका वडा नं. ३, का अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर र दक्षिण कोरियाको प्थगलन ज्भभ ग्लष्खभचकष्तथ बाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।
मंगलबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसका आधारमा प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका थिए ।
हिजोकै मितिदेखि लागू हुने गरी पदमुक्त गरिएका हर्कराजलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गरेका थिए ।