काठमाडौं । नेपालमा आधिकारिक विक्रेता नै नभएको अवस्थामा गैरकानूनी रुपबाट ज्यागुअर ल्याण्ड रोभर (जेएलआर) को गाडी भित्र्याउँदै आएका काइरोस इन्टरनेशनलका सञ्चालक विवादास्पद व्यापारी राकेश अडुकिया अनलाइन नेपाल र विजनेश न्यूजसँग पराजित भएका छन् ।
जेनजी आन्दोलनपछि गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचन अघि आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा जाँदा बालेन्द्र शाह ‘बालेन’ ले चढेको गाडि अडुकियाले गैरकानूनी बाटो प्रयोग गरी भित्र्याएको भन्दै अनलाइन नेपाललगायतका सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए ।
सोही समाचारलाई लिएर अडुकियाले अनलाइन नेपाल र विजनेश न्यूजलाई २०८२ फागुन २५ गते काठमाडौं जिल्ला अदालततमा मुद्दा दायर गरेका थिए ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको एकल इजलाशले दावी नपुग्ने भन्दै उक्त मुद्दा खारेज गरिदिएको हो ।
अडुकियाले उक्त गाडी भित्र्याउँदा राजश्व समेत छलेको खुलेको थियो ।
अडुकियाको कम्पनी काइरोसले बागमती प्रदेश–०१–०३३च४३४३ नम्बरको उक्त गाडी नेपाल भित्र्याएको भएपनि उक्त गाडी भने करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीका छोरा रितेशको नाममा रहेको थियो । मालपानी पनि कर छली लगायतका विवादास्पद पृष्ठभूमीका व्यक्ति हुन् ।
अडुकियासँग कमल मालपानीले पनि गाडी तस्करीको साझेदारीमा काम गर्दै आएको भन्सार विभाग स्रोत बताउँछ ।
गैरकानूनी रुपमा गाडी भित्र्याएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडुकिया, मालपानी र उनीहरुको कम्पनीमाििथ छानविन गरिरहेको छ ।
जसमा भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका धेरै कर्मचारीहरु पनि छानविनमा तानिएका छन् ।
भन्सार विभागले अडुकियाको कम्पनी काइरोसलाई १०१ प्रतिशत भन्सार महशुल कम गराई गाडी भित्र्याउन अनुमति दिएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा छानविन गरिरहेको छ ।
काइरोस इन्टरनेसनलले हङकङमा दर्ता भएको अटोमोवाइल युनिभर्सल डेभलभमेन्ट इन्टरनेशनल (औडी) नामक एक साधारण कम्पनीबाट आधिकारिक विक्रेताको प्रमाणपत्र लिएर उक्त डिफेन्डर गाडी भित्र्याएको देखिन्छ । औडी पनि अडुकियाकै कम्पनी रहेको प्रष्ट हुने भन्सार विभाग स्रोत बताउँछ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा हाल प्रहरी हिरासतमा रहेका विचौलिया दीपक भट्ट र उनका साझेदार उपेन्द्र हिरावतसँग मिलेर अडुकियाले हङकङबाट गाडी सप्लाइ गर्दै आएका छन् ।
अडुकियाको कम्पनी काइरोसले आफू ज्यागुअर ल्याण्ड रोभर (जेएलआर) को आधिकारिक विक्रेता रहेको दावी गरेर गाडी भित्र्याउँदै आएको छ । तर, जेएलआरले नेपालमा आफ्नो कुनै पनि आधिकारिक विक्रेता नरहेको प्रष्ट पारिसकेको छ ।
अडुकियाको कम्पनीले गैरकानूनी रुपमा राजश्व छली गरेर बालेन चढेको ४३४३ नम्बरको गाडीसहित १४ वटा गाडी भित्र्याएको छ ।
यस्तो थियो अडुकिया र मालपानीले चलाएको धन्दा बारे अनलाइन नेपालमा प्रकाशित समाचार