काठमाडौं । रोल्पा जिप दुर्घटनाको तीन दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंगो राष्ट्रलाई शोकमग्न बनाएको भन्दै दुःख व्यक्त गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै भयावह जीप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति समग्र राष्ट्रलाई स्तब्ध बनाएको भन्दै दुःख व्यक्त गरेको हो ।
'मिति २०८३ वैशाख १७ गते दिउँसो करिब २:५० बजे रोल्पाको थवाङ गाउँपालिका-१, सल्यापमा २० जना नागरिकको ज्यान जाने गरी भएको जिप दुर्घटनाले सिङ्गो राष्ट्रलाई शोकमग्न बनाएको छ । यस हृदयविदार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दाहरूको सक्रियतामा तत्काल उद्धारलाई तीव्रता दिइएको थियो,' मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सह(सचिव हेमराज अर्यालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी उपरीक्षकको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक दुर्घटनालाई अत्यन्त गम्भीर विषयका रूपमा लिँदै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक नीतिगत तथा संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
साथै सडक दुर्घटना नागरिकको जीवन र परिवारको भविष्यसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएकोले यसमा देखिएका प्राविधिक तथा मानवीय कमजोरी सुधार्न कार्यालय दृढताका साथ अघि बढ्ने प्रतिबद्धता विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार दिउँसो रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्राको लागि जान लागेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप थबाङ गाउँपालिका १ जलजलास्थित सडकखण्डबाट ८०० मिटर तल भीरमा खसेको थियो । दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक रहेका छन् ।