काठमाडौं । काठमाडौं थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन् ।
आज सुकुमबासी बस्तीमा डोजर चलिरहँदा उक्त दृश्य हेर्न नसकेर रेखा कुँवर नाम गरेकी एक महिला बेहोस भएकी हुन् ।
बेहोस भएकी कुँवरलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगेको छ।
आजै बल्खुमा खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
मृतककै परिवारका अनुसार मृतक ६१ वर्षीय इन्द्रबहादुर राई शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका थिए ।
यद्यपी काठमाडौं प्रहरीले भने अहिलेसम्म मृतकको अवस्थाको बारेमा विस्तृत जानकारी गराएको छैन ।
प्रहरी स्रोतका अनुसार शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ।
आज बिहानैदेखि बल्खु, टेकु नजिक पर्ने वंशीघाट, बालाजु लगायतका स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउने क्रम जारी छ ।
यसअघि सरकारले थापाथलिस्थित सुकुम्बासी बस्ती, तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी बस्ती र भक्तपूरस्थित मनोहरा क्षेत्रको बस्तीमा डोजर चलाएको थियो ।