काठमाडौं। सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता ९एआई०को दुरुपयोग बढ्दै गएकोमा ध्यानाकर्षण भएको नेपाल प्रहरीले जनाएको छ।
पछिल्लो समय एआई प्रयोग गरी नेपाल प्रहरीको लोगो, भेषभूषा तथा दर्ज्यानी चिन्हहरू तोडमोड गरी भ्रामक सामग्री तयार पार्ने र प्रसारण गर्ने क्रम बढेको भन्दै यसप्रति प्रहरीको ध्यानाकर्षण भएको हो।
यस्ता सामाग्रीले भ्रम र अफवाह फैलाउने सम्भावना रहने भएकाले यसप्रति सजग रहन प्रहरीले अनुरोध गरेको छ।
नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत भनेको छ- 'सुरक्षाजस्तो सम्वेदनशील विषयमा आम नागरिकलाई सुसूचित गराउनु साझा जिम्मेवारी भए पनि एआईको दुरुपयोग गरेर संस्थाका प्रतीक चिह्न तथा पोसाकसम्बन्धी गम्भीर विषयलाई तोडमोड गरेर प्रकाशितरप्रसारित हुने ‘कन्टेन्ट’ले समाजमा भ्रम तथा अफवाह फैलाउने सम्भावना रहेको तर्फ सजग हुन कन्टेन्ट क्रिएटरहरुलाई अनुरोध गर्दछौँ ।'
प्रहरीले यस्ता सामग्री तयार गर्ने ‘कन्टेन्ट क्रिएटर’हरूलाई वास्तविकता र विश्वसनीयतामा विशेष ध्यान दिन आग्रह गरेको छ। सुरक्षा निकायका लोगो, पोशाक तथा अन्य चिन्हहरूको प्रयोग गर्दा आधिकारिक मापदण्डअनुसार मात्र प्रयोग गर्नुपर्ने जनाएको छ।
साथै यस्ता भ्रामक सामग्री उत्पादन र प्रसारण गरिए प्रचलित कानुनअनुसार कारबाही हुने समेत प्रहरीले चेतावनी दिएको छ।