काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) सुदूरपश्चिमदेखि कोसी प्रदेशसम्म देशका धेरै जिल्लामा तीव्र वेगको हावाहुरी आउने सम्भावना रहेको जनाउँदै सम्बन्धित क्षेत्रका बासिन्दालाई सजगता अपनाउन सुझाव दिएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे ‘हावाहुरीसम्बन्धी चेतावनी–१’ जारी गरी देशका धेरै स्थानमा अपराह्न ४ बजेदेखि हुरी चल्ने सम्भावना देखिएको जानकारी दिएको हो।
चेतावनीमा लेखिएको छ–‘आज वैशाख १६ गते बुधबार, सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्ला, गण्डकी र बागमती प्रदेशका नवलपुर र चितवनसहित आसपासका जिल्ला, मधेस प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्ला र कोसी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’
आज अपराह्न ४ बजे सुरु हुने हुरी बिहीबार बिहान ६ः४५ बजे मात्र थामिने सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ। यस विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता सूचना जारी गरेको छ।
तीव्र हुरीका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनेलगायतका जोखिम रहने प्राधिकरणले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो भने कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
त्यसैगरी राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
