काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले मालपोत कार्यालय ललितपुरको प्रमुखमा विवादास्पद र आकर्षक कार्यालयमा रजगज गरी अकूत कमाउन सफल भएका छविलाल नेपालीलाई काठमाडौं उपत्यकाको सर्वाधिक आकर्षक मालपोत कार्यालय ललितपुरमा सरुवा गरेकी छन् ।
सुशासनको चर्को नारा लगाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको भूमिब्यवस्था मन्त्रालयको समेत कार्यभार सम्हालेकी मन्त्री प्रतिभा रावलले विगतको केपी शर्मा ओली नेतृत्वको सरकारले कारबाहीस्वरुप डिल्लीबजार मालपोत कार्यालयबाट रौतहट मालपोत कार्यालयमा सरुवा गरेका उपसचिव नेपालीलाई ललितपुर मालपोत कार्यालयमा सरुवा गरेकी छन् ।
मन्त्री रावलका निजी सचिव भीम बुढाको सेटिङमा नेपालीलाई ललितपुर मालपोतमा सरुवा गरिएको मन्त्रालयका एक अधिकारी बताउँछ । सुशीला कार्की सरकारका भूमिब्यवस्था मन्त्री कुमार इङ्नामले ललितपुर मालपोत कार्यालयको प्रमुखमा सरुवा गरेका भीम बुढा रास्वपाले चुनावमा बहुमत ल्याउनासाथ मन्त्री रावलको निजी सचिवका रुपमा मन्त्रालय आएका छन् ।
आफ्नो जागिर अवधि लामो भएको र मालपोत कार्यालयमा बस्दा विवादमा परिने भएपछि उनी मन्त्रालयमा आएका थिए । उनले नेपालीजस्ता हाक्काहाक्की ऐन–कानून मिचेर काम गर्नसक्ने र करोडौं घुस असुल्न सक्ने खुबी भएका नेपालीलाई ललितपुर मालपोतको प्रमुखमा सरुवा गर्न मन्त्री रावललाई सिफारिस गरेको भूमि ब्यवस्थापन तथा अभिलेख बिभाग स्रोत बताउँछ ।
मन्त्रीलाई उपसचिव नेपालीको बिगतको भ्रष्ट छवि थाहा नभएकाले बुढाकै सिफारिसमा उनले सरुवा गर्न सचिव मदन भूजेललाई निर्देशन दिएको मन्त्रालयमा चर्चा छ ।
भूजेल डिल्लीबजार मालपोत कार्यालयको प्रमुख हुँदा हदबन्दी भन्दा बढीका जग्गा समेत दर्ता गरेको खुलेको छ । यसका अलावा गुठीका जग्गादेखि मोहीको विवादमा समेत उनले ऐन कानून नभई ठूलो आर्थिक चलखेलकै आधारमा गरेको आरोप लागेको थियो ।
उपसचिव नेपाली भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले पूर्वराजा स्व. वीरेन्द्र र ज्ञानेन्द्र शाहका कान्छा भाइ तत्कालीन अधिराजकुमार धिरेन्द्र शाहको ३५ रोपनी हदबन्दीको जग्गा उनका हकवाला ३ जनाको नाममा कायम गर्ने आदेश दिएका थिए । भूमिसुधार अधिकारीको रुपमा उनले ७ करोड रुपैयाँ घुस लिएर उक्त आदेश दिएको आरोप लाग्दैआएको छ ।
त्यसैगरी, नेपालीमाथि भूमिसुधार अधिकारीकोे रुपमा २०८० चैत १२ गते गरिएको निर्णयका क्रममा टौदहस्थित एक जग्गाको मोही नामसारी गर्ने बहानामा झन्डै २५ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो ।
जागिरे जीवनमा उपसचिव भएपछि आकर्षक मालपोत कार्यालयमा रजगज गरी अकूत कमाउनेमा पर्दछन्–छविलाल नेपाली ।
उनी २०७८ देखि ८० सम्म बाँके मालपोत कार्यालयका प्रमुख थिए । बाँके उपत्यका बाहिरको आकर्षक कार्यालयमा पर्दछ । २०८० भदौदेखि मंसिरसम्म काठमाडौैंको टोखा मालपोत कार्यालयमा प्रमुख भएका उनी २०८० मंसिरमा डिल्लीबजार मालपोत कार्यालयमा सरुवा भएका थएि ।
२०८१ कात्तिकसम्म डिल्लीबजारमा कार्यरत रहँदा भूमिसुधार अधिकारीका रुपमा हदबन्दीका जग्गाा दर्ता गर्नेदेखि मोही तल्सिङका विवादित जग्गामा निर्णय गर्दै अकूत आर्जन गर्न सफल भएका थिए ।
डिल्लीबजार मालपोत कार्यालयबाट स्थानीय तहमा सरुवा भएका उनी पावरकै भरमा खटाएको स्थानीय तहमा हाजिर हुनसम्म गएनन् । तीन महिनासम्म सिंहदरबारदेखि बिभिन्न शक्तिकेन्द्र धाएर सामान्य प्रशासन मन्त्रालयमा चलखेल गरी २०८१ पुसमा भूमिब्यवस्था मन्त्रालयमै फर्किन सफल भए ।
२०८२ साउनसम्म भूमि मन्त्रालयमा बसी पुनः बलराम अधिकारीलाई ब्रिफकेस बुझाएर २०८२ साउनमा कास्की मालपोत कार्यालयमा सरुवा भएका हुन् । लिचीबारी जग्गा प्रकरणमा ठूलो भ्रष्टाचार आरोप लागेका केपी शर्मा ओली सरकारका भूमि ब्यवस्था मन्त्री बलराम अधिकारीले उनलाई कास्की पठाएका थिए ।
कास्की मालपोत कार्यालयमा कार्यरत नेपाली विवादास्पद र घुस्याहा भएको थाहा पाएपछि तत्कालीन भूमिब्यवस्था मन्त्रालयको कार्यभार पाएका मन्त्री अनिलकुमार मिश्रले २०८२ कात्तिकमा फेरि अर्कै मन्त्रालय अन्तर्गत स्थानीय तहमा सरुवा गर्न लगाए ।
यो पटक पनि सरुवा भएको पालिकामा नगएका उनी २०८२ पुसमा फेरि भूमिब्यवस्था मन्त्रालयमै आएर रौतहट मालपोत कार्यालयमा सरुवा भए । ललितपुर मालपोतमा जानका लागि चलखेल गरेका नेपालीलाई इङ्नामले रौतहटमा सरुवा गरी उनको योजना तुषारापात गरिदिएका थिए ।
तर २०८२ चैतमा बलेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री भएपछि विवादित नेपाली पुनः ललितपुर मालपोत कार्यालयमा सरुवा हुन सफल भएका छन् ।
भूमिब्यवस्था मन्त्री रावलका निजी सचिव भीम बुढाले सामान्य प्रशासन मन्त्रालयमा सेटिङ मिलाएर नेपालीलाई ललितपुर मालपोत कार्यालयमा सरुवा गरेको चर्चा संघीय मामिला परिसरमा हुने गरेको छ ।
बुढा आफू पर्दापछाडि बसेर विवादित र जस्तासुकै अनियमितता गर्नसक्ने खुबी भएका नेपालीलाई पठाएपछि बुढालाई भूमि ब्यवस्थापन बिभागका कर्मचारीहरुले ‘कम्बल ओढेर घ्यू खाने’ पीएको संज्ञा दिन थालेका छन् ।