काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।
केही दिनभित्रै बढुवा गर्ने तयारी भइरहेको मन्त्रालय स्रोत बताउँछ । सशस्त्र प्रहरीमा डीआईजी पद रिक्त भएको महिनौं भइसकेको छ । विगतमा चुनावका कारण बढुवा रोकिएको थियो ।
तर, नयाँ सरकार बनेको दुई साता हुँदा पनि बढुवा प्रक्रिया अघि नबढेको भन्दै आलोचना बढेपछि गृहले गृहकार्य अघि बढाएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार यसपटक विगतमा सोर्सफोर्स र चलखेलका आधारमा बढुवा भएकालाई ‘नकारात्मक सूची’मा राख्ने तयारी छ। जसकारण वरियतामा अघि रहेकाहरु बढुवामा छुट्ने सम्भवना छ ।
विगतमा राजनीतिक पहुँच नभएकाहरुलाई बढुवामा प्राथमिकता दिन मन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठलाई निर्देशन दिएका छन्।
आवश्यक परेमा आफैंले बढुवाका आकांक्षीहरुको अन्तर्वार्ता समेत लिने मन्त्री गुरुङको तयारी रहेको स्रोत बताउँछ ।
‘जेष्ठता होइन कार्यक्षमताका आधारमा बढुवा गर्नुपर्छ भन्ने मन्त्रीज्युको कुरा छ,’ मन्त्रालयका एक अधिकारी भन्छन्,‘त्यसैको गृहकार्यका कारण बढुवामा केही समय लागेको हो।’
बढुवामा सिंस २ का एसएसपीहरु मुख्य दाबेदार छन् । जसमा दिगविजय सुवेदी, भुपेन्द्र केसी, कमल तिउसिना, निरकृष्ण अधिकारी, सुदिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, राजेन्द्र खड्का, उद्धव न्यौपाने, नरेन्द्र सेन, शंकर खनाल र किरण ढुंगाना बरितयामा अगाडि छन् ।
तर, कार्यक्षमता हेरिने र विगतमा राजनीतिक चलखेलका आधारमा बढुवा भएकालाई नराख्ने नीति भएकाले उनीहरुभन्दा पछि एसएसपी भएकाहरु पनि यसपटक बढुवामा अटाउने सम्भावना छ।