एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका–इरान शान्ति वार्तामा दुवै पक्षलाई असल मनसायका साथ वार्तामा सहभागी हुन अपिल गरेका छन् ।
पाकिस्तानको राजधानी इस्लामावाद अमेरिका र इरानको उच्चस्तरीय प्रतिनिधिमण्डलले वार्ता गर्ने तय भएपछि महासचिव गुटेरेसले दुवै देशलाई असल मनसायका साथ वार्तामा सहभागी हुन अपिल गरेका हुन् ।
संयुक्त राष्ट्र संघको प्रेस ब्रिफिङमा महासचिवका प्रवक्ता स्टेफन डुजेरिकले गुटेरेसले दुवै पक्षलाई कूटनीतिक अवसरको फाइदा उठाउन र असल मनसायका साथ स्थायी र व्यापक सम्झौताको दिशामा वार्ता गर्न आग्रह गरेको बताए ।
डुजारिकले भनेका छन्- ‘महासचिवले अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधानको विकल्प नभएको कुरा दोहोर्याउँदै यो संयुक्त राष्ट्रसंघको बडापत्रसहितको अन्तर्राष्ट्रिय कानुनअनुसार हुनुपर्ने बताएका छन्।’
उनले कूटनीतिक प्रयासलाई समर्थन गर्न गुटेरेसका विशेष दूत त्यस क्षेत्रमा उपस्थित रहेको पनि बताएका छन्।
वार्ताका लागि अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा र इरानबाट सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा प्रतिनिधिमण्डल पाकिस्तानको इस्लामाबाद आइसकेका छन्।
गत २८ फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु भएपछि मध्यपूर्व तनावग्रस्त छ । डेढ महिना लामो युद्धपछि गत ८ अप्रिलमा दुई साताका लागि युद्धविराम भएको थियो। यही अवधिमा वार्ताको प्रक्रिया सुरु भएको हो।
वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरू शनिबार बिहानदेखि खालीजस्तै देखिएका छन् । पाकिस्तानले वार्तालाई मध्यनजर गर्दै उद्दार सेवा र अस्पतालहरूलाई उच्च सतर्कतामा राखेको छ ।