Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी कार्यालयहरूलाई बिचौलिया रहित बनाउन आईजीपी कार्कीको निर्देशन

प्रहरी कार्यालयहरूलाई बिचौलिया रहित बनाउन आईजीपी कार्कीको निर्देशन

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासोको उचित सम्बोधनका साथै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा आईजीपी कार्कीले यस्तो निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाउने जस्ता गतिविधिमा संलग्न बिचौलियाहरूलाई तत्काल कानुनी दायरामा ल्याई बिचौलिया रहित, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए ।

प्रत्येक प्रहरी कार्यालयहरूले नागरिक सहजकर्ता व्यवस्था गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा प्रहरी सेवा प्रदान गरी भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएस मार्फत जानकारी गराउन समेत उनले निर्देशन दिए ।

शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारीहरू सदैव कटिबद्ध हुनुपर्नेमा उनको जोड छ । 

प्रहरी महानिरीक्षक कार्कीले पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताउँदै सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी नियन्त्रण एवम् प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन खरो रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोली एवम् बचनलाई आत्मसात् गरी तोकिएको जिम्मेवारी उत्कृष्ट रूपमा वहन गर्न निर्देशन दिए ।

आआफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आवश्यकता अनुरूप सुरक्षा योजना एवम् रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला निकायसँग समन्वय गरी थप क्रियाशील हुनुपर्ने एवम् सचेतना अभिवृद्धि गर्नुपर्नेमा समेत विशेष ध्यान दिई कार्य गर्नुपर्ने उनको भनाइ छ ।

प्रहरी महानिरीक्षक कार्कीले आआफ्नो कार्यक्षेत्रमा हुन सक्ने संभावित विपद् जन्य घटनाहरूमा जनधनको क्षति  न्यूनीकरण गर्नको लागि विशेष सतर्कता अपाउनुपर्ने उल्लेख गर्दै विपद्का घटनाहरू सम्बन्धी पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताए ।

विपद्को समयमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा थप प्रभावकारी रूपमा परिचालित हुन समेत उहाँले सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

साथै भीड नियन्त्रण तथा व्यवस्थापनमा विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै बल प्रयोगको सिद्दान्तलाई अवलम्बन गरी पूर्वअभ्यासमा जोड दिई प्रहरी कर्मचारीहरू तयारी अवस्थामा रहनुपर्ने बताए ।

सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने उनले निर्देशन दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077