काठमाडौं। बिहीबार नेप्से झिनो अंकले बढेर बिदा भएको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तिममा सम्हालिँदै ५.८२ अंकले बढेको हो।
बिहीबार अघिल्लो कारोबार दिनको तुलनामा आज नेप्से ०.२० प्रतिशतले बढेर २७८२.१८ विन्दुमा अडिएको छ।
बिहीबार ३२८ कम्पनीको एक लाख तीन हजार २२५ पटकको कारोबारमा दुई करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार आठ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५ रुपैयाँको कारोबार भयो।
बुधबार १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज ९८ कम्पनीका मात्र सेयरमूल्य बढे। १५८ कम्पनीका सेयर मूल्य ओरालो लागे भने १२ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा सात समूहका उपसूचक बढ्दा बाँकी ६ समूहका सूचक घटे।
जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.११ प्रतिशतले घट्दा विकास बैंक समूहको सूचक ०.४८ प्रतिशतले बढ्यो। यसैगरी फाइनान्स समूहको सूचक ०..८७ प्रतिशतले घट्यो। होटेल तथा पर्यटन ०.३९‚ जलविद्युत् ०.०५ तथा लगानी समूहको उपसूचक ०.१५ प्रतिशतले उकालो लागे।
यस्तै जीवन बिमा समूह ०.१९ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन समूह १.७७ प्रतिशतले बढ्यो। लघुवित्त समूह ०.२९ प्रतिशतले घट्यो। म्युचुअल फन्ड समूह ०.१५ प्रतिशतले बढ्यो। निर्जीवन बिमा समूहको उपसूचक ०.३३ र अन्य समूहको सूचक ०.०३ प्रतिशतले घट्यो। यसैगरी व्यापार समूहको सूचक भने २.५३ प्रतिशतले बढेको छ।
तीनवटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड‚ रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड छन्। अर्थात् यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।
यस्तै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ३.०६ प्रतिशतले घाटा बेहोरे। कारोबार रकमका आधारमा पनि एसवाई प्यानल लिमिटेड अग्रस्थानमा छ। आज एसवाईको ३५ करोड ७० लाख १२ हजार ५८९ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि कुमारी बैंक लिमिटेड सबैभन्दा अगाडि रह्यो। कुमारीको सेयर बिहीबार १० लाख ७९ हजार ९२१ कित्ता किनबेच भयो। मंकुमारीको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २२२ रुपैयाँ कायम रह्यो।