काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।
आज बिहानमात्रै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले खड्कालाई पक्राउ गरेको थियो ।
आजै पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो ।
यसै विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका थिए ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।
यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा हिजो मात्रै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फ्रेसिङ माध्यमबाट र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको लागि भौतिक रुपमा अदालतमा उपस्थित गराइएको थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अनुसन्धानका लागि थुनामा राख्ने कि रिहा गर्ने भन्नेबारे आदेश भने आउन बाँकी छ ।