एजेन्सी। अमेरिका र इजरायलको इरानसँग जारी युद्धका कारण सम्भावित इन्धन अभावलाई मध्यनजर गर्दै श्रीलङ्काले इन्धन बचत गर्न कडा कदम चालेको छ।
यसै क्रममा श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपत्कालीन बैठकमा इन्धन खपत कम गर्न सार्वजनिक निकायहरूमा प्रत्येक बुधवार बिदा दिने घोषणा गरेका छन्।
युद्धका कारण खाडी क्षेत्रबाट दैनिक लाखौँ ब्यारेल तेल एसियासम्म ल्याउने प्रमुख मार्ग 'होर्मुज जलडमरुमध्य' बन्द भएपछि एसियाली देशहरूले चालेका कडा कदमहरूको शृङ्खलामा यो पछिल्लो निर्णय हो।
श्रीलङ्काले अर्को सूचना नभएसम्मका लागि भोलिदेखि लागू हुने गरी बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।
हप्तामा तीन दिन बिदा हुने नियम सबै शैक्षिक संस्थाहरूमा पनि लागू हुनेछ । तर अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य तथा अध्यागमन कार्यालयजस्ता सरकारी निकायहरूमा यो लागू नहुने अधिकारीहरूले बताएका छन् । हप्तामा तीन दिन लगातार सरकारी कार्यालयहरू बन्द नहोऊन् भनेर शुक्रवारको सट्टा बुधवार बिदा दिने निर्णय गरेको अधिकारीहरूको भनाइ छ ।
अमेरिका र इसराइले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा हवाई हमला गरिरहेको छ।
पछिल्लो पटक मध्यपूर्वका देशहरुमा साउदी, कुवेत, बहराईन, कतार, दुबई, सारजाहा, ओमान, इराकमा रहेको अमेरिकी सैनिक अखडाहरुमा इरानले लगातार मिसाइल आक्रमण गरेर प्रतिरक्षा प्रणाली ध्वस्त पारिसकेको छ ।
मध्यपूर्व युद्धका कारण विश्वको सबैभन्दा बढी तेल ढुवानी मार्ग 'होर्मुजको जलडमरूमध्य' मा तेल बोकेका ट्याङ्कर र पानीजहाजहरूमाथि इरानले आक्रमण गर्दै आएको छ ।
उक्त क्षेत्र आक्रमण हुन थालेयता विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य र अभाव बढेको छ ।
गत वर्ष यस जलडमरुमध्यबाट आपूर्ति हुने लगभग ९० प्रतिशत तेल र ग्यास एसियातर्फ आएको थियो।
एसियाका अन्य देशहरूमा पनि अधिकारीहरूले इन्धन र ऊर्जा खपत कम गर्न विभिन्न प्रकारका मितव्ययिताका उपायहरू अपनाएका छन्। थाइल्यान्ड सरकारले एसीको प्रयोग कम गर्न नागरिकहरूलाई सुट फुकालेर छोटो बाहुला भएको टिसर्ट लगाउन आग्रह गरेको छ।
म्यानमारमा भने निजी सवारीसाधनहरूलाई उनीहरूको लाइसेन्स प्लेट नम्बरको आधारमा जोर–बिजोर प्रणालीअन्तर्गत आलोपालो गरी चलाउन मात्र अनुमति दिइएको छ।
बङ्गलादेशले ऊर्जा बचत गर्न विश्वविद्यालयहरूमा दिइने रमजान महिनाको बिदालाई अगाडि सारेको छ भने देशभर योजनाबद्ध रूपमा विद्युत् कटौती सुरु गरेको छ।
फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीहरूलाई हप्तामा कम्तीमा एक दिन घरबाटै काम गर्न अनिवार्य गरेका छन्।
भियतनाम सरकारले पनि नागरिकहरूलाई इन्धन बचत गर्न सकेसम्म घरमै बस्न जोडदार आग्रह गरिरहेको छ।