काठमाडौं। सोमबार नेप्से २६.०७ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा ०.९२ प्रतिशतले घटेको नेप्से २७९८.८३ अंकमा रोकिएको हो।
नेप्सेमा सोमबार ३४५ कम्पनीको एक लाख दुई हजार ७५९ पटकको कारोबारमा तीन करोड सात लाख ९० हजार २११ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँको कारोबार भयो। आइतबार भने १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आज ४८ कम्पनीको मात्र सेयरमूल्य बढ्यो। २११ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा चार कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहको कारोबार भएकामा उत्पादन तथा प्रशोधन समूहको सूचक ०।२५ प्रतिशतले बढ्दा बाँकी सबै १२ समूहका उपसूचक राताम्मे बने।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक १.६१‚ विकास बैंक ०.८४‚ फाइनान्स ०.७१‚ होटेल तथा पर्यटन ०.२६‚ जलविद्युत् ०.६१‚ लगानी १.५२ र जीवन बिमा समूहको उपसूचक ०.९४ प्रतिशतले ओरालो लाग्यो। उत्पादन तथा प्रशोधन समूह भने ०.२५ प्रतिशतले बढ्यो।
यसैगरी लघुवित्त समूह ०.७५‚ म्युचुअल फन्ड ०.४३‚ निर्जीवन बिमा ०.४५‚ अन्य १.०९ र व्यापार समूहको सूचक ०.२१ प्रतिशतले घट्यो।
नेप्सेमा चार कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा साल्पा विकास बैंक‚ रिलायन्स स्पिनिङ मिल्स‚ माथिल्लो हेवाखोला जलविद्युत् र सोलु हाड्रोपावर कम्पनी छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।
यस्तै कारोबार रकमका आधारमा आज सबैभन्दा बढी आँखुखोला जलविद्युत् लिमिटेडको ६८ करोड ७७ लाख २४ हजार ७६१ रुपैयाँको कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर २२ लाख ७२ हजार २४५ कित्ता किनबेच भएको छ। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २९७ रुपैयाँ कायम रह्यो।