काठमाडौं । प्रतिनिधिसभा सदस्य सागर ढकालले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ढकालले प्रधानमन्त्रीलाई सम्मान व्यक्त गर्दै पनि जाँदाजाँदै गरिएको निर्णयमा भएको गल्ती सच्याउन आग्रह गरेका हुन्।
'आमा, जति सुकै ठुलो महामानव भए पनि गल्ती हुन्छन्। हजुरले पनि देशलाई ठुलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ,' उनले लेखेका छन्,'जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनु हुनेछ भन्ने कामना गरेका छौँ।'
ढकालले कुनै स्पष्ट विज्ञता वा अनुभव नभएको व्यक्तिलाई प्रधानमन्त्रीको स्वकीय सचिव भएकै आधारमा राष्ट्रिय प्रकृति संरक्षण कोषजस्तो जिम्मेवार निकायको नेतृत्व सुम्पिन नमिल्ने तर्क गरेका छन्।
'न कुनै विज्ञता, न अनुभव—मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिवस यत्तिको आधारमा प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र,' उनले प्रश्न गरेका छन्।
उनका अनुसार यस्तो निर्णयले भविष्यमा योग्य र विज्ञ व्यक्तिलाई जिम्मेवारी दिने अभ्यास कमजोर बनाउन सक्छ। उनले आगामी सरकारहरूलाई पनि यस्तो निर्णयले नजिर बस्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
'अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिर अनुसार गाह्रो हुन्छ,'उनले भने, '५ वर्षभरि नै हजुरको यो अन्तिम निर्णय बालेन, रवि र हाम्रोलागि तगारो पो हुने भयो।'
ढकालले आफूहरू आगामी दिनमा नातावाद र कृपावादको अन्त्य गर्ने अभियानमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले निर्णय सच्याएर उदारता देखाउने अपेक्षा व्यक्त गरेका छन्।
'हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ। आशा छ, हजुरले निर्णय सच्याएर उदारता देखाउनुहुनेछ,' उनले भने ।