काठमाडौं । जेनजी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताएकी छन्
आइतबार माइतीघर मण्डलामा पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्ने बताएकी हुन्।
अब बन्ने सरकारले शपथ लिनुअघि जेनजी पुस्तासँग संकल्पन गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनिन्- 'अब बन्ने सरकारले भदौ २३ र २४ को नियति फेरि नेपाली जनताले भोग्नु नपर्ने ग्यारेन्टी हामीलाई दिनुपर्छ। उनीहरुले शपथ ग्रहण गर्नुअगाडि हामीसँग पनि एक किसिमको संकल्प गर्नुपर्छ होला कि यस्तो नियति फेरि नेपाली जनताले भोग्नु नपरोस्। जनताका छोराछोरी मार्न पाइँदैन। जतिसुकै शक्तिशाली सरकार भए पनि जनताका छोराछोरी मार्न पाइँदैन भन्ने स्पष्ट सन्देश बुझ्नुपर्छ।'
उनले राज्य शक्तिशाली भएपनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताइन् ।
समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिक सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्ने उनको धारणा छ ।
आज पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै बमसहितको जेनजी समूहले माइतीघरमा प्रदर्शन गरेको छ।