उदयपुर। उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ।
निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको हो ।
कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि चेक बाउन्स प्रकरणमा कालो सूचीमा परेको छ।
कम्पनीको सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई हुन्। यही फागुन २१ गते भएको निर्वाचनमा तामाङ रास्वपाबाट निर्वाचित भएका थिए।
तामाङ १४ हजार ८०२ मतसहित विजयी हुँदा एमालेका अम्बर बहादुर रायामाझीले ७ हजार ६४८ मत ल्याएका थिए।
यसअघि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले निर्वाचनको मुखैमा धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी खारेज नै गरेको थियो ।
साहले भारी मत पाएपनि उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट नेकपाका मातृका यादव निर्वाचित भइसकेका छन् । रास्वपाका उम्मेदवार साहले ३० हजार ४९१ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवले १० हजार ४३० मत ल्याएका थिए ।