Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रथम महिला प्रधानमन्त्री सुशीला ‘आमा’ को सफलता

प्रथम महिला प्रधानमन्त्री सुशीला ‘आमा’ को सफलता

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशमा राजनीतिक संकट उत्पन्न भयो । संकटका बेला देशको बागडोर सम्हाल्न आएकी पूर्वप्रधानन्यायाधिश सुशीला कार्की आज ‘हाईहाई’ भएकी छन् । 

कतिपयले उनलाई बुढि आमा भने त कतिले बयोबृद्ध महिलाले कसरी निर्वाचन गराउलिन् भन्दै प्रश्न गरे । तर, आज उनले त्यसलाई चिर्न सफल भइन् । जेनजी अगुवादेखि आम जनताले 'आमा' भन्दै गरेको सम्बोधनलाई उनले पूरा गरेरै छाडिन् । 

हुँदा हुँदा आज बालेन्द्र साह ‘बालेन’ ले पनि उनलाई आमा भन्दै सम्बोधन गरेर फेसबुकमा स्टाटस नै लेखे । प्रधानमन्त्री कार्कीको सफलतालाई राष्ट्रपति रामचन्द्र पौडेल, बालेन, गगन थापा, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले शुभकामना व्यक्त गरिसकेका छन् ।

संकटको घडीमा सरकारको नेतृत्व लिएकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य म्यान्डेट थियो, प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउनु । उनी आज आफ्नो मुख्य म्यान्डेटमा सफल भइन् ।

भदौ २७ गते कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने म्यान्डेट दिएका थिए । हिजोसम्म पनि शान्तिपूर्ण रुपमा निर्वाचन हुने संशयकाबीच कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन सफल भएको छ ।

निर्वाचन गराउने वाचासहित मन्त्रीमण्डलमा गएका चारजना मन्त्रीहरु आफै चुनावी मैदानमा उत्रिन राजीनामा दिएर गएपनि प्रधानमन्त्री कार्कीले आफ्नो दायित्व भने पूरा गरेरै छाडिन् ।

महाविर पुन, बब्लु गुप्ता, जगदिश खरेल र कुलमान घिसिङले आफ्नो वाचा भुलेर कार्कीको साथ छाडे । तर, कार्कीले हार खाइनन्, चुनाव गराएरै छाडिन् । 

राजनीतिक, आर्थिक, कुटनीतिक, सुरक्षा लगायतका विषयमा आवश्यक समन्वय र व्यवस्थापन गर्दै निर्वाचन सफल पार्ने चुनौतीको सामना गर्न सरकार सफल भयो । 

जेनजी आन्दोलनपछि कठिन परिस्थितिमा राजनीतिका मूल प्रवाहको रूपमा स्थापित भएका राजनीतिक दल, जेनजी आन्दोलनको नेतृत्व गर्ने पक्ष र चुनाव विरोधी पक्षलाई निर्वाचनसम्म डोहोर्याउनु कार्कीको लागि अग्नि परीक्षा नै थियो ।  

ठूला तथा पुराना राजनीतिक दल, जेनजी अगुवा र निर्वाचनको विरोध गर्दै आएको दुर्गा प्रसाईं समूहलगायतका पक्षलाई समेत विभिन्न चरणका छलफल र समझदारी गर्दै निर्वाचनसम्म ल्याउन उनी सफल भइन् । उनलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भने सुरुका दिनबाटै राम्रै साथ दिए । 

यो बीचमा केही साना कम्युनिष्ट दल र दुर्गा प्रसाईं पक्षले भने निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका थिए । त्यस्तै, सरकारले जेनजी आन्दोलनको क्रममा प्रहरीबाट लुटिएका हतियारको ठूलो हिस्सा निर्वाचन अघि फिर्ता गर्न सफल भयो । जुन सुरक्षाको दृष्टिकोणले संवेदनशिल नै थियो । 

गृहमन्त्रीसँगसँगै अर्थमन्त्री रामेश्वर खनालबाट पनि राम्रो साथ पाउँदा कार्कीलाई सरकार सञ्चालनमा सहज भयो । सरकारको विगतको अव्यवहारिक खर्च र खर्च क्षमता नभएको शीर्षकको खर्चभित्रबाटै स्रोत व्यवस्थापन गरेर निर्वाचन खर्चको व्यवस्थापन गर्न अर्थमन्त्री सफल भए ।

आज मुलुकमा १६५ वटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विगतमा भएका निर्वाचनको तुलनामा थप शान्तिपूर्ण देखियो । विगतको निर्वाचनमा मतपेटिका कब्जा गर्ने, बुथ कब्जा गर्ने, मान्छे मर्ने स्तरबाट झडप गर्ने लगायतका घटना हुने गरेका थिए । 

तर, आज सम्पन्न भएको निर्वाचनमा भने दोलखाको मालुमा राजनीतिक दलकै प्रतिनिधिबाट मतपत्र लुट्ने र सो पछि भएको हवाइ फायर, सर्लाही ४ मा सामान्य धकेलाधकेल, उदयपुरमा एक हवाइ फायर लगायतका सामान्य छिटफुट घटनाबाहेक गम्भीर प्रकृतिका घटना भएनन् ।

यद्यपी आज सम्पन्न निर्वाचनमा भने विगतको औसत रूपमा अपेक्षाकृत मत भने खसेन । निर्वाचन आयोगले देशैभरी ६० प्रतिशत मतदान भएको जनाएको छ ।

आज सम्पन्न निर्वाचनको जस प्रधानमन्त्री कार्की र उनले नेतृत्व गरेको नागरिक सरकारलाई जान्छ र जानुपर्छ । 

मतगणनाको अन्तिम परिणाममा जसले बाजी मारे पनि हामीले यो चाहिं भन्न सक्नुपर्छ बधाई नेपाली जनता । बधाई प्रधानमन्त्री कार्की । बधाई नागरिक सरकारको सम्पूर्ण मन्त्रीमण्डल ।

अब पालो चुनाव जित्ने शक्तिको हो। छोटो अवधिमा प्रथम महिला प्रधानमन्त्रीले जति सफलता हासिल गरिन्, त्यसले आउँदो सरकारका लागि उच्च मानक कायम गरेकी छन्।

सँधै नेपालका नेतालेमात्रै चुनाव जित्दै आएको नेपाली जनताको बुझाई अब परिवर्तन हुन जरुरी छ । अब नेपाली जनताहहरूले जित्नुपर्छ ।  जनप्रतिनिधिहरुले पनि त्यसै मार्गचित्रलाई संवैधानिक दायराभित्र बसेर मूलमन्त्र बनाउँदै अघि बढ्न सकून् भन्ने हाम्रो शुभकामना ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077