काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगका अनुसार दिउँदो चार बजेसम्म देशभरी ७६ लाख मत खसेको हो ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।
आज देशभर प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान कार्य जारी छ ।
हाल देशभरका १० हजार ९६७ मतदान केन्द्रमा छिटपुट समस्या बाहेक मतदान सामान्य रूपमा भइरहेको छ।
अहिलेसम्म कुल देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा दिउँसो पौने ४ बजेसम्म ५४ प्रतिशत मत खसिसकेको छ ।
प्रदेशतर्फ गण्डकी र कर्णाली प्रदेशमा ४८ प्रतिशत मतदान भएको छ । मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा जम्मा ३७ प्रतिशत मात्र मत खसेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, बागमती र लुम्बिनी प्रदेशमा समान ४७ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने कोशी प्रदेशमा ४६ प्रतिशत मत खसेको छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ३९ प्रतिशत मात्र मत खसेको छ ।